बाह्य क्षेत्र सबल, आन्तरिक अर्थतन्त्र शिथिल : नीति सुधारको खाँचो औंल्याउँदै अर्थविद्

१० पुष २०८२, बिहीबार ११:०४

काठमाडौं । आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । अर्थविद्, आर्थिक तथा वित्तीय क्षेत्रका सरोकारवाला संघ–संस्थाका प्रतिनिधिको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले मुलुकमा पूर्वाधार विकासको अवस्था कमजोर रहेको उल्लेख गर्दै पूर्वाधार संरचना विस्तारका लागि संस्थागत क्षमता अभिवृद्धि आवश्यक रहेको बताए । पूर्वाधार विकासमा वैदेशिक लगानी आकर्षित गर्न नीतिगत तथा संरचनागत वातावरण थप सहज र लगानीमैत्री बनाउनुपर्नेमा उनले जोड दिए ।

अन्तरक्रियाका क्रममा राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेलले आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशा समेटिएको कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा समष्टिगत अर्थतन्त्रको पृष्ठभूमि, अर्थतन्त्र र वित्तीय क्षेत्रको वर्तमान अवस्था, विद्यमान चुनौती, ती चुनौती सम्बोधन गर्न सरकार र राष्ट्र बैंकबाट गरिएका नीतिगत प्रयास तथा दीर्घकालीन सुधारका मार्गचित्रबारे विस्तृत चर्चा गरिएको थियो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् पृथ्वीराज लिगलले कुल राष्ट्रिय बचत बढ्दै गए पनि लगानीको अनुपात कमजोर रहेको बताए । बाह्य क्षेत्रको स्थिति सबल देखिए तापनि अर्थतन्त्रका अन्य परिसूचकहरू कमजोर रहेको उल्लेख गर्दै अहिलेको अधिक तरलतालाई उत्पादनमूलक क्षेत्रमा परिचालन नगरेसम्म अर्थतन्त्रमा सुधार आउन नसक्ने धारणा उनले राखे ।

त्यसैगरी अर्थविद् डा. गोविन्द नेपालले विदेशी विनिमय सञ्चितिलाई उत्पादनमूलक तथा पूर्वाधार विकासका क्षेत्रमा परिचालन गर्न सरकारबाट ठोस प्रयास हुनुपर्ने बताए । अर्थशास्त्री डा. कल्पना खनालले व्याजदर निरन्तर घट्दै जाँदा पुँजी पलायनलाई प्रश्रय मिल्न सक्ने खतरा औंल्याउँदै उपलब्ध वित्तीय स्रोतलाई पूर्वाधार परियोजनामा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याइन् ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा सह–प्राध्यापक डा. रमेशचन्द्र पौडेलले मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा रहेको उल्लेख गर्दै वैदेशिक लगानी परिचालन तथा उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि वित्त नीति अझ सबल हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका उच्च अधिकारी, नेपाल राष्ट्र बैंकका वरिष्ठ अधिकारी, उद्योगी–व्यवसायी, बैंकर, सञ्चारकर्मी तथा आर्थिक र वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो । सहभागीहरूले प्रस्तुत कार्यपत्र तथा अर्थतन्त्रको समसामयिक अवस्थाबारे विभिन्न सुझाव र धारणा राखेका थिए ।

कार्यक्रमको अवसरमा नेपाल राष्ट्र बैंकका प्रवक्ता एवं मानव संसाधन व्यवस्थापन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै वित्तीय क्षेत्रलाई सुदृढ र गतिशील बनाउन राष्ट्र बैंकबाट भइरहेका नीतिगत तथा संस्थागत प्रयासबारे जानकारी गराएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*