बिक्री ठप्प हुँदा ईभी गाडी गोदाम र भन्सारमै थन्किए, आयातमा समेत भारी गिरावट

१० पुष २०८२, बिहीबार १२:५६

काठमाडौँ । नेपाली अटो बजार पछिल्लो समय गहिरो मन्दीको चक्रमा फसेको छ । केही महिनाअघि मात्रै अटो शोमा देखिएको भीड, ईभीमय वातावरण र बजारले सम्हालेको गतिशीलता अहिले स्मृतिमा सीमित हुँदै गएको हो । जेन–जी आन्दोलनले देशको समग्र आर्थिक गतिविधिलाई प्रभावित पार्दै लगेपछि त्यसको सबैभन्दा तीव्र असर अटो उद्योगमा देखिन थालेको हो । उपभोक्तामा बढेको अनिश्चितता र त्रासले गाडी खरिदजस्तो दीर्घकालीन निर्णयलाई पछाडि धकेल्दै लगेको छ भने व्यवसायीहरू बिक्री बढाउने रणनीतिभन्दा पनि कसरी टिक्ने भन्ने चिन्तामा छन् ।

आन्दोलनले अर्थतन्त्र नै हल्लिँदा आम उपभोक्ताको मनोबल कमजोर बनेको छ । केही समयअघिसम्म आम्दानी स्थिर रहने र खर्च व्यवस्थापन सहज हुने अपेक्षामा रहेका उपभोक्ता अहिले भविष्यप्रति विश्वस्त छैनन् । रोजगारी, व्यापार र आय–आर्जनमा परेको दबाबले उनीहरू खर्च गर्नभन्दा पनि बचतमा केन्द्रित हुन थालेका छन् । अत्यावश्यक खर्चबाहेक अन्य खर्च रोक्ने प्रवृत्ति बढ्दै जाँदा नयाँ गाडी किन्ने चाहना तीव्र रूपमा घटेको छ । बजारमा माग सुस्तिँदा अटो उद्योग सीधै मन्दीमा धकेलिएको छ । व्यवसायीहरूका अनुसार अहिले गाडी बिक्रीमा भारी गिरावट आइसकेको छ ।

बजारमा यस्तो सुस्तता देखिँदा पनि आयातको तथ्यांकले सुरुवाती चरणमा त्यति ठूलो गिरावट देखाएको थिएन । तर चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो पाँच महिनाको तथ्यांकले भने स्थिति गम्भीर बन्दै गएको छ। भन्सार विभागका अनुसार मंसिर मसान्तसम्म ईभी आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.५५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनामा ४ हजार ६ सय ९५ युनिट ईभी आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा यो संख्या ३ हजार ८ सय युनिटमा सीमित भएको छ ।

ईभी आयात घट्नुको प्रमुख कारण अहिले बजारमा थुप्रिएको ठूलो स्टक हो । चालु आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि करको दर बढ्ने आशंकामा व्यवसायीहरूले आक्रामक रूपमा ईभी आयात गरेका थिए । झण्डै ६ हजार युनिट गाडी एकैपटक भित्रिँदा बजारमा आपूर्ति अत्यधिक भयो । तर बजेटमा तत्कालीन अर्थमन्त्रीले कर यथावत् राखेपछि व्यवसायीहरू आश्चर्यचकित बने । कर नबढे पनि ठूलो परिमाणमा भित्रिएका गाडी बिक्री नहुँदा स्टक नै समस्या बन्न पुग्यो । बन्दरगाहदेखि थोक गोदामसम्म गाडीले भरिँदा नयाँ आयात रोक्नुपर्ने अवस्था आयो, जसले हाल आयातको तथ्यांक घटेको देखिन्छ ।

यहीबीच अटो शोले बजारलाई थप भ्रमित बनायो । अटो शोका क्रममा हजारौँ सवारी साधन बुकिङ भएको थियो । धेरै कम्पनीहरूले ती बुकिङलाई वास्तविक माग ठानेर थप स्टक बढाए । तर आन्दोलन सुरु भएपछि उपभोक्ताले आफ्नो आर्थिक योजना पुनः मूल्यांकन गर्न थाले । बुकिङ रद्द गर्ने क्रम बढ्दै गयो । विशेषतः अटो शोबाट ठूलो संख्यामा बुकिङ पाएका कम्पनीहरू अहिले ती बुकिङ बिक्रीमा रूपान्तरण नहुँदा गहिरो तनावमा छन् । केही गाडी डेलिभरी भए पनि अधिकांश बुकिङ बीचमै रोकिए । जसले गर्दा ‘अघिल्लो उत्साह नै अहिले तनाव’ बनेको व्यवसायीहरूको भनाइ छ ।

बजार सुस्त हुँदा अर्को गम्भीर समस्या बैंकिङ क्षेत्रसँग जोडिएको छ । गाडी किनेका धेरै ग्राहकले किस्ता तिर्न नसक्ने अवस्था बढ्दै गएको छ । आय–आर्जन घट्दा मासिक किस्ता धान्न नसक्ने ग्राहकको संख्या बढेको छ । कर्जा तिर्न ढिलाइ हुँदा धेरै ग्राहक बैंकको कालोसूचीमा पर्न थालेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*