वित्तीय रुपमा कमजोर ‘आइएमई लिमिटेड’, प्रतिस्पर्धा बजारमा टिक्न गारो परेपछि आईपीओ रणनीति

काठमाडौँ । सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारीमा रहेको व्यवसायी चन्द्र ढकालको स्वामित्वमा रहेको आइएमई लिमिटेड वित्तीय रुपमा कमजोर देखिएको छ। पछिल्ला वर्षका तथ्यांकले कम्पनीको आम्दानी, नाफा क्षमता, तरलता र कार्यशील पूँजी व्यवस्थापनमा गम्भीर कमजोरीहरू उजागर गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा १२ लाख ५० हजार कित्ता शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पर्खिरहेको छ।
सन् २००१ मा निजी सीमित कम्पनीका रूपमा स्थापना भएको आइएमईले २०१४ मा सार्वजनिक कम्पनीको रूपमा रूपान्तरण भएदेखि विश्वका विभिन्न देशबाट भित्रिने रेमिट्यान्समा महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै आएको छ। तर पछिल्ला पाँच वर्षको तथ्यांकले कम्पनीको वित्तीय स्थिति कमजोर हुँदै गएको देखिएको छ । सन् २०२२ मा सञ्चालन आम्दानी ९६ करोड ८० लाख रहेकोमा २०२३ मा घटेर ८१ करोड २० लाख, २०२४ मा ७९ करोड १० लाख र २०२५ मा जम्मा ७९ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ।
रेमिट्यान्स बजारमा तीव्र प्रतिस्पर्धा, डिजिटल भुक्तानी प्रणालीको बढ्दो प्रयोग र अन्य कम्पनीहरूको आक्रामक रणनीतिका कारण आइएमईको व्यापार लगातार घट्दो क्रममा छ। नेपालमा ५० भन्दा बढी सक्रिय रेमिट्यान्स कम्पनीहरू एउटै बजारमा प्रतिस्पर्धामा छन्। यस कारण सेवा शुल्क, नेटवर्क विस्तार र ग्राहक आकर्षणमा कडा प्रतिस्पर्धा भइरहेको छ। बैंक तथा वित्तीय संस्थाहरूले पनि आफ्नो शाखा सञ्जाल विस्तार गर्दै आएका छन्। यी संस्थाहरूले रेमिट्यान्स सेवाहरू सहज रूपमा उपलब्ध गराउन थालेकाले परम्परागत रेमिट्यान्स कम्पनीहरूको बजार संकुचित हुँदै गएको छ।
डिजिटल भुक्तानी प्रविधिको तीव्र विकासले आइएमई जस्ता कम्पनीका लागि थप चुनौती सिर्जना गरेको छ। विद्युतीय वालेट र मोबाइल भुक्तानी माध्यम प्रयोग बढ्दा परम्परागत एजेन्ट–आधारित रेमिट्यान्स सेवाको आवश्यकता घट्दै गएको छ। विशेष गरी साना रकमको घरेलु कारोबारमा डिजिटल माध्यमको प्रयोगले कम्पनीको घरेलु कारोबारमा प्रत्यक्ष असर गरेको छ।
आईएमईको आम्दानी संरचनामा वैदेशिक मुद्रा विनिमयबाट हुने नाफाको हिस्सा अत्यधिक रहेको छ। आर्थिक वर्ष २०२५ मा कुल आम्दानीको करिब ६५ प्रतिशत हिस्सा वैदेशिक मुद्रा बिक्रीबाट आएको छ। तर यो आम्दानी अस्थिर प्रकृतिको भएकाले ठूलो जोखिम रहन्छ। विनिमय दरमा सानो परिवर्तनले पनि आम्दानीमा ठूलो उतारचढाव ल्याउन सक्छ। वैदेशिक मुद्रा आम्दानी प्रत्यक्ष रूपमा भित्रिने रेमिट्यान्स कारोबारको परिमाणमा निर्भर हुने भएकाले प्रतिस्पर्धाले कारोबार घटाएमा आम्दानीमा पनि गिरावट आउन सक्छ।
पछिल्ला वर्षमा अपनाइएको आक्रामक लाभांश वितरण नीतिले तरलतालाई झन कमजोर बनाएको छ। आर्थिक वर्ष २०२४ र २०२५ मा कम्पनीले आफ्नै नाफाभन्दा बढी लाभांश वितरण गरेको देखिन्छ। नाफाको ठूलो हिस्सा बाहिरिएपछि कम्पनीमा नगद अभाव भएको छ।
रेमिट्यान्स व्यवसाय विदेशी मुद्रा कारोबार, आप्रवासन नीतिहरू, कामदारको कार्य अनुमति, पैसा पठाउने सीमा र अन्य नीतिगत परिवर्तनका जोखिमप्रति संवेदनशील रहँदै आएको छ। आइएमईको कुल रेमिट्यान्सको ९० प्रतिशतभन्दा बढी कतार, संयुक्त अरब इमिरेट्स, भारत र संयुक्त राज्य अमेरिका लगायतका शीर्ष १० देशहरूबाट आउँछ। यी देशमा प्रतिकूल नियामक परिवर्तनले कम्पनीको सञ्चालन आम्दानीमा थप दबाब ल्याउने गरेको छ ।
सञ्चालन नाफा अनुपात पनि अस्थिर र कमजोर हुँदै गएको छ। सञ्चालन आम्दानीको तुलनामा सञ्चालन नाफा २०२१ र २०२२ मा करिब ५० प्रतिशतको हाराहारीमा देखिएको थियो। तर २०२३ मा घटेर ३४ प्रतिशत, २०२४ मा ४४ प्रतिशत पुगेको देखिए पनि २०२५ मा फेरि ३६ प्रतिशतमा सीमित भएको छ। लागत नियन्त्रण, एजेन्ट कमिसन व्यवस्थापन र सञ्चालन क्षमता कमजोर रहेको देखिन्छ।
ऋण संरचनामा औपचारिक दीर्घकालीन ऋण नलिएको भए पनि बाह्य दायित्व बढेको छ। कुल बाह्य दायित्व र मूर्त स्वपूँजीको अनुपात २०२१ मा २.४ गुणा, २०२३ मा १.२ गुणा भए पनि २०२५ मा १.८ गुणा पुगेको छ। ब्याज तिर्ने क्षमता पनि तीव्र गिरावटमा छ। सञ्चालन नाफाले ब्याज खर्च धान्ने अनुपात २०२१ मा उच्च रहेकोमा २०२५ मा उल्लेखनीय रूपमा घटेको छ।
आईएमई बाह्य रूपमा ठूलो र स्थापित कम्पनी देखिए पनि भित्री वित्तीय संरचना क्रमशः कमजोर हुँदै गएको छ। आम्दानीमा ठोस वृद्धि नहुनु, सञ्चालन नाफामा उतारचढाव, उच्च बाह्य दायित्व, कमजोर कार्यशील पूँजी र घट्दो तरलताले कम्पनीलाई भविष्यमा गम्भीर वित्तीय चुनौतीतर्फ धकेलिरहेको छ।
कम्पनीको मुख्य शेयरधनी दुई दाजुभाइ, चन्द्रप्रसाद ढकाल र हेमराज ढकाल (अध्यक्ष) हुन्, जसले प्रत्येकले ३३.३ प्रतिशत शेयरधनी रहेको छन्।













