शेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा रिहा

काठमाडौं । शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतले आइतबार अग्रवाललाई धरौटी बुझाउने सर्तमा छाड्न आदेश दिएको हो। अदालतको आदेशअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि उनी रिहा हुनेछन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अग्रवाललाई १० दिनअघि काठमाडौंको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको थियो। नेपाल धितोपत्र बोर्डको सिफारिसमा विभिन्न कम्पनीको सेयरमा भित्री कारोबार गरेको आरोपमा उनी पक्राउ परेका हुन्।
अनुसन्धानका क्रममा अग्रवालमाथि झुटो कारोबारमार्फत सेयरको मूल्य प्रभावित पारेको अभियोग लगाइएको छ। धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार उनले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर खरिद गरेपछि धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) विपरीत भ्रामक विवरण सार्वजनिक गरेका थिए।
उक्त भ्रामक सूचना प्रवाह गरेर उच्च मूल्यमा सेयर बिक्री गरी अग्रवालले करिब ४९ लाख १९ हजार ८६५ रुपैयाँ गैरकानुनी नाफा आर्जन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।













