तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र ल्याउँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारमार्फत २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले सोमबार सूचना जारी गर्दै एक वर्ष अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ को बोलकबोल तथा निष्कासन गर्न लागिएको जनाएको हो।
सूचनाअनुसार कुल निष्कासन रकम २५ अर्ब रुपैयाँ रहेको छ। ऋणपत्रको बोलकबोल सोमबार मध्याह्न २ बजेसम्म विद्युतीय बोलकबोल प्रणालीमार्फत मात्र गर्न सकिने व्यवस्था गरिएको छ। सोही दिन निष्कासन मिति तोकिएको छ भने ऋणपत्रको परिपक्व अवधि एक वर्ष रहनेछ।
ऋणपत्रको व्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। व्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ भने साँवा भुक्तानी परिपक्व मितिमा हुनेछ। न्यूनतम बोल रकम ५ करोड रुपैयाँ तोकिएको छ र बाँकी रकम निशेष भाग नजाने गरी कुल आह्वान गरिएको रकमसम्म बोल गर्न सकिनेछ।
बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।













