जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन २४% ले बढ्यो, अग्रस्थान र बृद्धिदरमा नेपाल लाइफको वर्चश्व

१४ पुष २०८२, सोमबार १२:२८

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा झण्डै १७ अर्ब रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले पाँच महिनामा उक्त नयाँ व्यवसाय गरेका हुन् ।

जीवन बीमा कम्पनीहरुको नयाँ बीमा व्यवसा गत आर्थिक वर्षको तुलनामा २४.२४ प्रतिशतले बृद्धि भएर १६ अर्ब ९७ करोड सात लाख रुपैयाँ रहेको छ । कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब ६५ करोड ९८ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।

विवरण अनुसार मंसिर महिनासम्ममा नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । यता, गत आवको तुलनामा व्यवसाय बृद्धिको आधारमा नेपाल लाइफ र आइएमई लाइफ इन्स्योरेन्स आक्रामक देखिएका छन् ।

समीक्षा अवधिमा १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये हिमालयन लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सको प्रथम बीमा शुल्क आर्जन सामान्य अंकले घट्न पुगेको छ । यता, सन नेपाल लाइफले वैदेशिक रोजगार बीमा कारोबार बहिस्कार गरेका कारण प्रथम बीमा शुल्क आर्जन सामान्य अंकले घट्न पुगेको हो ।

नयाँ व्यवसाय आर्जन र बृद्धिदरको आधारमा प्रथम रहेको नेपाल लाइफ इन्स्योरेन्सले पाँच अर्ब १२ करोड ६० लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३.०८ प्रतिशतले नयाँ व्यवसाय बढाएको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण

 

साथै, आईएमई लाइफ इन्स्योरेन्स पनि वित्तीय व्यवसायिक रुपमा निकै बलियो बन्दै गइरहेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा आफ्नो नयाँ व्यवसायलाई ४७.२० प्रतिशतले बृद्धि गराउन सफल भएको छ । कम्पनीले मंसिर महिनासम्मको अवधिमा ७९ करोड १३ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

एशियन लाइफ इन्स्योरेन्स पनि नयाँ व्यवसाय भित्र्याउनमा आक्रामक देखिएको छ । कम्पनीले गत आवको तुलनामा २६.६६ प्रतिशतले नयाँ व्यवसाय बृद्धि गरेको छ । कम्पनीले यस अवधिमा ८४ करोड ७६ लाख रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, एलआइसी नेपालको प्रथम बीमा शुल्क आर्जन २६.५५ प्रतिशत, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २५.३९ प्रतिशत, नेशनल लाइफ इन्स्योरेन्सको २१.७८ प्रतिशत, सिटिजन लाइफ इन्स्योरेन्सको २०.५९ प्रतिशत, मेट नेपाल लाइफको १९.६९ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको १५.०८ प्रतिशतले बृद्धि भएको छ ।

तुलनात्मक विवरण अनुसार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १४.८८ प्रतिशत, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ७.५७ प्रतिशत, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ६.२९ प्रतिशततले नयाँ बीमा व्यवसाय बृद्धि भएको छ । यस अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सको १२.६५ प्रतिशत र सन नेपाल लाइफ इन्स्योरेन्सको २६.७९ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन घट्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*