जीवन बीमा कम्पनीहरूले बाग्मती प्रदेशमा गरे ३५ अर्बको व्यवसाय, अन्य प्रदेशमा कति?

१४ पुष २०८२, सोमबार १३:१९

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म बाग्मती प्रदेशमा मात्रै ३५ अर्ब १४ करोड ४१ लाख रुपैयाँको व्यवसाय गरेका छन्।

बीमा कम्पनीहरू बाग्मती प्रदेशमा बढी केन्द्रित रहँदा ठूलो मात्रामा व्यवसाय भित्र्याउन सफल भएका हुन्। देशकै राजधानी रहेको र विकासका पूर्वाधारको हिसाबले पनि अन्य प्रदेशभन्दा बाग्मती अगाडि रहेकाले सधैंजसो यस प्रदेशबाट ठूलो राशीको व्यवसाय भित्रिएको हो।

बाग्मतीपछि लुम्बिनी प्रदेशमा बीमा कम्पनीहरूले बढी व्यवसाय गरेको तथ्यांकले देखाएको छ। लुम्बिनी प्रदेशबाट १२ अर्ब १५ करोड ४७ लाख रुपैयाँ माथिको व्यवसाय भित्रिएको छ भने कोशी प्रदेशबाट ९ अर्ब ३३ करोड ६६ लाख रुपैयाँ र गण्डकी प्रदेशबाट ८ अर्ब २० लाख रुपैयाँको व्यवासाय भएको छ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट ४ अर्ब ६९ करोड ८७ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट सबैभन्दा कम २ अर्ब ३९ करोड ५७ लाख रुपैयाँको व्यवसाय गरेका छन्। सुदूरपश्चिम र कर्णाली प्रदेश भोगोलिक हिसाबले र भौतिक पूर्वाधारको हिसाबले पनि अरूभन्दा पछाडि रहेको प्रदेश भए तापनि कम्पनीका अभिकर्ताहरू आम बीमितको घरदैलोमै पुगेर जीवनको रक्षावरण गर्दै उक्त राशीको बीमाशुल्क संकलन गर्न सफल भएका छन्।

यसरी कम्पनीहरूले चालू आवको मंसिर मसान्तसम्म कुल ७८ अर्ब ७७ करोड ५८ लाख रुपैयाँको जीवन बीमा व्यवसाय गर्न सफल भएका छन्। यस क्रममा कम्पनीहरूले कुल १ करोड ६१ लाख ६७ हजार ८५४ वटा बीमालेख जारी गरेका छन्।

कम्पनीहरूले सावधिक, अग्रिम भुक्तानी सावधिक, रुपान्तरित सावधिक, बालबच्चा सम्बन्धी सावधिक, वैदेशिक रोजगार म्यादी, आजीवन, एकल बीमा शुल्क, म्यादी, लघु र अन्य जीवन बीमालेख बिक्री गरेर उक्त राशीको बीमाशुल्क संकलन गरेका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*