आईपीओ निष्काशन तयारीमा रहेको पाल्पा सिमेण्टको साधारण सभा स्थगित

काठमाडौं । पाल्पा सिमेण्ट इण्डष्ट्रिज लिमिटेडको वार्षिक साधारण सभा स्थगित गरिएको छ । कम्पनीले पुस १४ गतेका लागि बोलाइएको साधारण सभा स्थगित भएको जानकारी दिएको हो ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा पुस १४ गते सोमबार आयोजना गर्ने तयारी गरेको थियो । तर, पुस ९ गते नेपाल धितोपत्र बोर्डबाट प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्न अनुमति प्राप्त भएपछि साधारण सभा स्थगित गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डले पाल्पा सिमेण्ट इण्डष्ट्रिजलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई निष्काशन गर्न अनुमति दिएको छ । यसअनुसार कम्पनीले कुल ७५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को दफा ४९ अनुसार सार्वजनिक निष्काशनका लागि अनुमति प्राप्त गरिसकेको संगठित संस्थाले नयाँ सेयरधनीहरू समेत समावेश नगरी साधारण सभा गर्न नपाउने कानूनी व्यवस्था रहेको छ । सोही व्यवस्था बमोजिम अर्को सूचना जारी नगरेसम्मका लागि साधारण सभा स्थगित गरिएको कम्पनीले स्पष्ट पारेको छ ।
पाल्पा सिमेण्टको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई दिइएको छ ।












