३५ हजार किसानको आयको आधार बन्दै च्याउ, राष्ट्रिय च्याउ दिवसले थप्यो व्यावसायिक गति (भिडियोसहित)

१५ पुष २०८२, मंगलवार १८:४२

काठमाडौँ । च्याउको महत्व, यसको पोषणीय मूल्य र आर्थिक सम्भावनाबारे व्यापक जनचेतना फैलाउने उद्देश्यका साथ आज पुष १५ गते देशभर पहिलोपटक राष्ट्रिय च्याउ दिवस मनाइएको छ। नेपाल सरकारको पुष ११ गतेको निर्णयअनुसार मनाइएको यस दिवसले गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षाको अभिवृद्धि, आन्तरिक खपत वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

हाल नेपालको कृषि गार्हस्थ्य उत्पादनमा च्याउ उपक्षेत्रको योगदान ० दशमलव १५ प्रतिशत रहेको छ। करिब ३५ हजार किसान प्रत्यक्ष रूपमा च्याउ खेतीमा संलग्न छन्, जसले यसलाई साना तथा मझौला कृषकको आयआर्जनको महत्वपूर्ण माध्यमका रूपमा स्थापित गरेको छ। विभिन्न अध्ययनअनुसार नेपालमा पाइने करिब एक हजार १५० प्रजातिका च्याउमध्ये १४७ प्रजाति खानयोग्य, ७० प्रजाति औषधीय गुणयुक्त र १०० प्रजाति विषालु रहेका छन्, जसले च्याउको जैविक विविधता र सम्भावनालाई स्पष्ट रूपमा देखाउँछ।

पछिल्ला केही वर्षयता उद्यमी र सरकारको साथ तथा सहकार्यका कारण च्याउको व्यावसायिक उत्पादन क्रमशः विस्तार हुँदै गएको छ। यसले आयात प्रतिस्थापनको आधार तयार गर्नुका साथै निर्यात प्रवद्र्धनतर्फ पनि मार्ग प्रशस्त गरेको देखिन्छ। आर्थिक वर्ष २०८१/८२ मा नेपालले ६ लाख ७१ हजार रुपैयाँ बराबरको दुई हजार २६२ किलो ताजा वा चिस्यान गरिएको गोब्रे च्याउ आयात गरेको थियो भने सोही अवधिमा एक करोड एक लाख रुपैयाँ बराबरको १७ हजार १९८ किलो च्याउ निर्यात भएको तथ्यांक छ। पछिल्लो समय सुकाएको च्याउसमेत निर्यात हुन थालेपछि यस उपक्षेत्रको सम्भावना अझ फराकिलो बन्दै गएको छ।

अन्य खेतीको तुलनामा कम समयमै उत्पादन लिन सकिने, न्यून जमिन र सीमित कृषि सामग्रीबाट पनि खेती सम्भव हुने तथा नेपालको भौगोलिक र जलवायु विविधताका कारण वर्षभरि उत्पादन गर्न सकिने भएकाले च्याउ खेतीलाई अत्यन्तै सम्भावनायुक्त मानिन्छ। व्यावसायिक उत्पादन र मूल्य शृङ्खला विकासमार्फत स्वदेशमै रोजगारी सृजना, कृषि अर्थतन्त्रमा योगदान, आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न च्याउ उपक्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

हाल नेपालका ७० जिल्लामा च्याउ खेती विस्तार भइसकेको छ भने ४० जिल्लामा व्यावसायिक रूपमा च्याउ उत्पादन गर्ने किसान सक्रिय छन्। मुलुकभर विभिन्न जातका च्याउ उत्पादन र कारोबारको आकार करिब २० अर्ब रुपैयाँ हाराहारी पुगेको अनुमान छ। नेपालमा गोब्रे च्याउको उत्पादन तथा अनुसन्धान सर्वप्रथम २०३०/३१ सालमा सुरु भएको इतिहास छ, जसले आजको व्यावसायिक च्याउ खेतीको जग बसालेको मानिन्छ।

प्रथम राष्ट्रिय च्याउ दिवसको अवसरमा आयोजना गरिएको महोत्सवमा च्याउ उत्पादन र यसको व्यावसायिक उपयोगितासम्बन्धी प्रदर्शनीलाई विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको थियो। विभिन्न प्रकारका च्याउका परिकारसहित ४० वटा स्टल राखिएका थिए, जहाँ गोब्रे, कन्ये, किङ्ग ओइस्टर र सिताके च्याउ उत्पादनका व्यावसायिक नमूनाहरू प्रदर्शित गरिएका थिए। महोत्सवले च्याउ उत्पादन र परिकारमा रहेको विविधता एकै स्थानमा देखाउने अवसर दिएको सहभागीहरूको भनाइ छ।

महोत्सवमा गोब्रे, कन्ये र सिताके च्याउका परिकारका लागि छुट्टाछुट्टै स्टल राखेर स्वाद चाख्ने व्यवस्था गरिएको थियो। साथै, च्याउ खेतीका आधुनिक प्रविधि र अभ्यासबारे किसानहरूलाई जानकारी दिने उद्देश्यले व्यावसायिक नमूनाहरू प्रदर्शन गरिएको थियो। प्रदर्शनीमा ६५ हजार रुपैयाँसम्म मूल्य पर्ने च्याउसमेत राखिएको थियो जुन औषधिजन्य गुणका कारण महत्वपूर्ण मानिने च्याउ एनसी एग्रो टेकको स्टकमा रहेको थियो।

च्याउलाई अत्यन्तै पोषिलो खाद्य वस्तुका रूपमा लिइन्छ। यसमा मानव स्वास्थ्यका लागि आवश्यक प्रोटिन, भिटामिन र खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छन्। विश्व बजारमा च्याउको माग उच्च रहँदै आएको छ र नेपालले यस क्षेत्रमा आत्मनिर्भर मात्र नभई निर्यातमुखी बन्न सक्ने सम्भावना बोकेको देखिन्छ। यद्यपि, व्यवसायीहरूका अनुसार च्याउ खेती, अध्ययन, अनुसन्धान र विकासमा अझै पर्याप्त सरकारी ध्यान पुग्न सकेको छैन।

हाल नेपालमा गोब्रे, कन्ये, सिताके, दुघे र राजा च्याउजस्ता जातहरूको व्यावसायिक खेती भइरहेको छ। देशभर धेरै प्रजातिका च्याउ पाइने भए पनि तिनको वैज्ञानिक अध्ययन, अनुसन्धान र दीर्घकालीन विकासमा कमी रहेको सरोकारवालाहरूको भनाइ छ। बहुमूल्य जातका च्याउ उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने अवस्था रहेकाले सरकारीस्तरबाट स्पष्ट नीति, प्रविधि सहयोग र बजार सुनिश्चितता आवश्यक रहेको उनीहरूको जोड छ।

प्रथम राष्ट्रिय च्याउ दिवस तथा महोत्सवले च्याउ खेतीको महत्वलाई उजागर गर्दै किसान र व्यवसायीहरूलाई थप प्रोत्साहित गर्ने विश्वास गरिएको छ। सरकारकै प्राथमिकतामा च्याउ उपक्षेत्र परेपछि व्यवसायीहरू उत्साहित देखिएका छन् भने आगामी दिनमा च्याउ खेतीले नेपाली कृषि अर्थतन्त्रमा अझ मजबुत योगदान दिने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*