राष्ट्रिय च्याउ दिवसमा एनसि एग्रो टेकको दबदबा, ‘राजा च्याउ’प्रति उपभोक्ताको बढ्दो आकर्षण (भिडियोसहित)

१५ पुष २०८२, मंगलवार १८:३८

काठमाडौँ । नवलपुरको गैंडाकोट–१४ मा रहेको एनसि एग्रो टेकले ‘राजा’ र ‘बटर’ ब्रान्डसहित औषधिजन्य च्याउ उत्पादन गर्दै स्वदेशी बजारमा आफ्नो उपस्थितिलाई क्रमशः विस्तार गर्दै आएको छ। अत्याधुनिक प्रविधि र वैज्ञानिक व्यवस्थापनमार्फत च्याउ उत्पादन गरिरहेको यस उद्योगले राष्ट्रियस्तरमै च्याउ क्षेत्रको सम्भावना उजागर गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको हो ।

सरकारले पुष १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने घोषणा गरेसँगै काठमाडौँको भृकुटीमण्डपमा प्रथम राष्ट्रिय च्याउ दिवस तथा च्याउ महोत्सव आयोजना गरिएको छ। गुणस्तरीय च्याउ उत्पादनको प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षाको अभिवृद्धि, आन्तरिक खपत वृद्धि, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको यस महोत्सवमा एनसि एग्रो टेकले उत्पादन गर्दै आएको ‘राजा ब्रान्ड’ च्याउ पनि प्रदर्शनीमा राखिएको छ।

महोत्सवको क्रममा नवलपुरस्थित अत्याधुनिक प्रयोगशालाबाट उत्पादन गरिएका राजा च्याउ राखिएको एनसि एग्रो टेकको स्टलमा दर्शक तथा प्रदर्शकको उल्लेख्य भीड देखिएको छ। विशेषगरी स्वास्थ्यका दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने औषधिजन्य राजा च्याउप्रति उपभोक्ताको चासो उच्च देखिएको हो। स्टलमा ६५ हजार रुपैयाँसम्म मूल्य पर्ने औषधिजन्य च्याउसमेत प्रदर्शनीमा राखिएको छ, जसले नेपाली बजारमा उच्च मूल्यका च्याउ उत्पादन सम्भव छ भन्ने सन्देश दिएको छ।

काठमाडौँको सोल्टीमोडमा प्रधान कार्यालय रहेको एनसि एग्रो टेकले लामो समयदेखि स्वदेशी बजारमा च्याउको पहुँच विस्तार गर्दै आएको छ। उद्योगका सञ्चालक दीपक न्यौपानेका अनुसार एनसि एग्रो टेकले हाल काठमाडौँमा मात्रै दैनिक ३० हजार केजीसम्म राजा च्याउ बिक्री वितरण गर्दै आइरहेको छ। उनले बजारमा आफ्नो उत्पादनप्रति उपभोक्ताको आकर्षण निरन्तर बढ्दै गएको बताए।

‘हाम्रो च्याउलाई बजारले अत्यधिक रुचाएको छ। स्वास्थ्यका लागि निकै लाभदायक भएकाले राजा च्याउ किन्ने उपभोक्ताको संख्या निरन्तर बढ्दो छ’ न्यौपानेले भने। उनका अनुसार दैनिक रूपमा १०० ग्रामदेखि २०० ग्रामसम्म च्याउ सेवन गर्नु स्वास्थ्यका लागि उपयोगी हुने विभिन्न तथ्यहरूले देखाएका छन्।

सरकारले च्याउ व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय च्याउ दिवस मनाउने निर्णय गर्नु आफैंमा सकारात्मक कदम भएको न्यौपानेको भनाइ छ। उनका अनुसार एनसि एग्रो टेकले चीनबाट ल्याइएको अत्याधुनिक प्रविधि र दक्ष प्राविधिकको सहयोगमा गैंडाकोटमा राजा च्याउ उत्पादन गर्दै आइरहेको छ। ‘हामी च्याउ उत्पादनमार्फत नेपाललाई आत्मनिर्भर बनाउने प्रयासमा छौँ। च्याउ क्षेत्रमा ठूलो सम्भावना छ, आवश्यक कुरा भनेको व्यवस्थित व्यवस्थापन हो’ उनले भने।

उनका अनुसार अहिले नेपाली बजारमा च्याउको प्रयोग क्रमशः बढ्दो क्रममा छ र उचित योजना तथा व्यवस्थापन गर्न सके च्याउ व्यवसाय घाटामूलक होइन बरु सम्भावनायुक्त क्षेत्र बन्न सक्छ। राष्ट्रिय च्याउ दिवस तथा महोत्सवले यस्ता उद्योगलाई थप हौसला मिल्ने र च्याउ क्षेत्रप्रति आम उपभोक्ता तथा नीतिनिर्माताको ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*