राज्यलाई करोडौं बक्यौता नतिर्ने चौधरी ग्रुपको सम्राट सिमेन्टको व्यापार ४ अर्ब ३६ करोड, १४ अर्ब ऋण लिँदै

१६ पुष २०८२, बुधबार १३:४६

काठमाडौँ । राज्यलाई दिनुपर्ने करोडौं विद्युत बक्यौता नतिर्ने चौधरी ग्रुप अन्तर्गतको सम्राट सिमेन्ट १३ अर्ब ९५ करोड रुपैयाँ ऋण जुटाउन लागेको छ । राज्यसँगको ६ करोड रुपैयाँको वक्यौता तिर्न आनाकानी गर्दै आएको कम्पनीले आफ्नो दीर्घकालीन कर्जा १० अर्ब ९३ करोड ९६ लाख र अल्पकालीन कर्जा ३ अर्ब १ करोड रुपैयाँ लिनको लागि रेटिङ गराएको हो । विभिन्न समय विवादमा आइरहेको र गुणस्तर विभागबाट कारबाही खाइसकेको कम्पनीलाई कुन बैंकले ऋण देला प्रश्न उठ्न थालेको छ ।

वक्यौता नतिर्ने कम्पनीको व्यापार भने उल्लेख्य रहेको देखिन्छ ।  सन् २०२५ मा वर्षदिनमा नै ४ अर्ब ३६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२४ को तुलनामा १४६ प्रतिशतले व्यापार बढाएको देखिएको छ । सन् २०२४ मा कम्पनीको व्यापार १ अर्ब ७७ करोड १० लाख रुपैयाँ रहेको थियो भने सन् २०२२ मा ४ अर्ब ८७ करोड र सन् २०२३ मा ३ अर्ब ३७ करोड रुपैयाँ व्यापार गरेको थियो । तर यति ठूलो व्यापार गर्दा पनि कम्पनीले राज्यलाई विद्युत वापतको वक्यौता तिर्न आनाकानी गर्दै आएको छ । पहिलो किस्ता बुझाए पनि कम्पनीले अझै आफुले सो विद्युत प्रयोग नगरेको दाबी गरिरहेको छ ।

सम्राट सिमेन्टका अन्य वित्तीय सूचक भने लगातार कमजोर हुँदै आएको छ । हाल कम्पनीको चुक्तापूँजीभन्दा साढे ४ गुणा बढी ऋण रहेको छ । समग्र गियरिङ अनुपातले पनि ऋणको भारमा कम्पनी परेको देखाउँछ। सन् २०२२ मा यो अनुपात ३.९६ रहेकोमा २०२३ मा ४.९६ र सन् २०२४ मा ४.९९ पुगेको थियो। सन् २०२५ को अनअडिट विवरणअनुसार यो अनुपात ४.७७ गुणा रहेको छ ।

दाङ जिल्लामा रहेको कम्पनी पछिल्ला वर्षहरूमा ऋणको गहिरो दलदलमा फस्दै आएको छ। २०१३ सालमा स्थापना भएको सम्राट सिमेन्टले सुरुमा प्रतिदिन १८०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमताबाट सञ्चालन थालेको थियो। सन् २०२२ जुलाई १७ मा उत्पादन क्षमता ३६०० मेट्रिक टन पु-याइएको थियो। उत्पादन क्षमता बढेपछि कम्पनीको वित्तीय अवस्था सबल हुने अपेक्षा गरिएको थियो तर तथ्यांकले भने ऋण भार बढेको देखिएको हो ।

कम्पनीले २०२२ जनवरी १४ देखि प्रतिदिन ४००० मेट्रिक टन क्षमताको क्लिङ्कर उत्पादन इकाइ सञ्चालनमा ल्याएको छ । लागत घटाउने र आत्मनिर्भर बन्ने उद्देश्यले सुरु गरिएको क्लिङ्कर उत्पादनका लागि गरिएको ठूलो लगानीले कम्पनीको ऋण भार थप चर्काएको छ ।

सम्राट सिमेन्टले दाङको उत्पादन केन्द्रबाट पोर्टल्यान्ड पोजोलाना सिमेन्ट र साधारण पोर्टल्यान्ड सिमेन्ट उत्पादन गर्दै आएको छ। बजारमा गजराज, गजराज प्रिमियम, बाज, बाज प्रिमियम, बादशाह, साम्राट र साम्राट प्रिमियम गरी सातवटा ब्रान्डमार्फत सिमेन्ट बिक्री गर्दै आएको कम्पनीले ब्रान्ड विस्तार गरे पनि वित्तीय सन्तुलन कायम गर्न सकेको छैन।

कम्पनीको कच्चा पदार्थमा पनि जोखिम देखिएको छ । कोइला, फ्लाइएस, जिप्सम, माटो, बक्साइट र फलाम अयस्क मुख्य कच्चा पदार्थ हुन्। विशेषगरी कोइला क्लिन्कर र सिमेन्ट उत्पादनमा प्रमुख भूमिका खेल्ने भएकाले यसको मूल्यमा अस्थिरता कम्पनीको वित्तीय अवस्था प्रत्यक्ष असर पार्दछ ।

ब्याज तिर्ने क्षमता पनि चिन्ताजनक देखिएको छ। सन् २०२२ मा ब्याज आवरण अनुपात १.४२ रहेकोमा सन् २०२३ मा घटेर ०.७० पुगेको थियो। यसले कम्पनीको आम्दानीले ब्याज खर्च समेत धान्न नसकेको देखाउँछ। सन् २०२४ मा यो अनुपात १.२७ र सन् २०२५ मा १.३४ पुगेको छ। न्यून ब्याज आवरण अनुपातले ऋणको ब्याज भुक्तानीमा सधैं दबाब रहने देखिन्छ ।

पछिल्लो समय नेपाली बजारमा बलिया कम्पनीहरु प्रतिस्पर्धामा आएका छन् । सम्राट सिमेन्टले ती कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकेकाले ऋणको दबाबमा परेको देखिन्छ । सिर्जना गरिएको दबाबको अर्को कारण भनेको कानुनी र वातावरणीय मापदण्ड पालना नगर्नु हो । चौधरी ग्रुपको सम्राट सिमेन्टले रोल्पाको रुन्टिगढी–६ खारास्थित चुनढुङ्गा खानी अवैध रुपमा ६ वर्षदेखि उत्खनन गर्दै आएको थियो । भूगर्भ विभागले गत चैत ७ मा पत्र पठाएपछि सो उत्खनन् रोकेको हो ।

सम्राट सिमेन्ट कम्पनी त्यहि हो जसले गुणस्तर प्रमाण चिन्ह प्रयोग नगरेको आरोपमा केहि वर्षअघि नाप तौल तथा गुणस्तर विभागबाट कारबाही भोगेको थियो । सो पश्चात नै ग्राहकहरुको सो सिमेन्टप्रतिको विश्वनियता नै घट्दै आइरहेको छ । पछिल्लो समय नेपाली बजारमा सम्राट सिमेन्ट किन्नु अघि नै ग्राहक डराउनु पर्ने अवस्था समेत सिर्जना भइरहेको हो ।

सम्राट सिमेन्टमा चौधरी ग्रुपका निर्वाण र वरुण चौधरी संचालक रहेका छन् भने अध्यक्ष अनिलकुमार रुंगटा छन् ।

अबैध कार्य गरिरहेको चौधरी ग्रुपलाई झड्का, चुनढुङ्गा उत्खनन कार्य रोकिएपछि स्थानीयको संघर्ष सफल

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*