कर्मले फुलेका सूर्यज्योति लाइफका कमल

राजन कठायत
१६ पुष २०८२, बुधबार १४:१३

नेपाली जीवन बीमा क्षेत्रमा निकै सुपरिचित नाम हो कमल घिमिरे । जीवन बीमा क्षेत्रमा घिमिरेले निभाएको भूमिका अन्य बीमा अभिकर्ताहरूले समेत अनुशरण गर्न लायकको छ । आफ्नो कृषि पेशामा माटो र सुन्तलाका बोटहरूसँग समय बिताउनु र समय मिलाएर जीवन बीमा गरेर बीमितको जोखिम रक्षावरण गर्नु नै घिमिरेको दैनिकी बनेको छ ।

पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४ अमलाबासमा जन्मिएका चिफ एजेन्सी म्यानेजर घिमिरे बुटवल पाल्पा रोड शाखा अन्तर्गत कार्यरत रहेका छन् । २०७३ सालमा सूर्यज्योति लाइफ इन्स्योरेन्स पाल्पा शाखाबाट अभिकर्ता पेशामा उदाएका उनी व्यक्तिगत कोडमा लगातार १०औं पटकसम्म कम्पनीको सर्वोत्कृष्ट अभिकर्ता बन्दै आएका छन् ।

एमडीआरटी, सीओटी र टीओटीको समेत लक्ष्य पूरा गर्न सफल घिमिरेले सूर्यज्योति लाइफ इन्स्योरेन्समा निरन्तर व्यक्तिगत कोडमा सर्वाधिक व्यवसाय गरी नेपाल टप बन्दै आएका छन् । नेपाली जीवन बीमा क्षेत्रका विसंगति तथा नकारात्मक पक्षका विरुद्ध खरो रूपमा प्रस्तुत हुँदै आएका घिमिरेसँग बीमा क्षेत्रमा आएका नयाँ अभिकर्ताहरूले समेत सल्लाह–सुझाव लिने गर्दछन् ।

नेपाली युवा–युवतीलाई बीमा क्षेत्रका विभिन्न प्लेटफर्मको प्रयोग गरी आफूलाई आर्थिक र सामाजिक रूपमा सक्षम बनाउन उनले सुझाव दिंदै आएका छन् । शैक्षिक योग्यता, वित्तीय ज्ञान, निरन्तरको कार्य र अनुशासित भद्र व्यवहारको प्रयोगबाटै उनले जीवन बीमा क्षेत्रमा उल्लेख्य प्रगति गर्न सफल भएका हुन् ।

जीवन बीमा पेशालाई आफ्नो जीवनकै अभिन्न अंग बनाउनुका साथै नेपालको कृषि क्षेत्रको अथाह सम्भावनालाई वास्तविकतामा परिणत गर्ने दृढ संकल्प सहित अघि बढेका व्यक्ति हुन् घिमिरे । पाल्पामा करोडौं रकम सुन्तला फार्ममा लगानी गरी दैनिक १० देखि १५ जना नागरिकलाई रोजगारी समेत प्रदान गर्दै आएका छन् ।

देशको माटोमै सुन फलाउने भनाईलाई चरितार्थ बनाउने उद्देश्य लिएर अघि बढेका घिमिरेले कृषि क्षेत्रको लगानीलाई समेत ‘मिसन २०८५’को उपमा दिएर अघि बढेका छन् । उनले भने, ‘मलाई मेरो देशको माटो नै सबैभन्दा बढी मनपर्दछ । विदेशमा रहेका नेपालीहरूलाई आफ्नै देशको बाँझो जग्गामा अथाह आम्दानीको श्रोत लुकेको कुरालाई मैले व्यवहारमा देखाउन पाउनु पनि हामी सबै नेपालीको लागि प्रेरणा र गर्वको कुरा हो। पाल्पामा सुन्तला खेतीमै मैले करोडौं लगानी गरेको छु र २०८५ सम्म वार्षिक १ करोड रुपैयाँको सुन्तला बिक्री गर्ने लक्ष्य रहेको छ।’

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘सूर्यज्योति चौरासी पूजा जीवन बीमा’ तथा ‘सूर्यज्योति एकल सिमित अवधि भुक्तानी जीवन बीमा’ योजनाका प्रोडक्ट एम्बेस्डर रहेका घिमिरेले जीवन बीमा क्षेत्रको गहिरो अध्ययन गरेका छन् । उनको बिचारम ‘जीवन बीमा कम्पनीका खास एम्बेस्डर भनेका ‘अभिकर्ता’ हुन् । उनीहरूले जीवन बीमाको ज्ञानलाई सुर्यको किरणझैं समाजमा छर्ने महत्वपूर्ण काम गरिरहेका हुन्छन्। मैदानमा उत्रिएर राम्रा–नराम्रा सबै खाले प्रतिक्रियाको सामना गर्ने हरेक समस्याको समाधान खोज्ने भनेकै अभिकर्ता हुन् ।

त्यसैले मैले त जीवन बीमा कम्पनीहरूले उत्कृष्ट कारोबार गर्ने अनुशासित अभिकर्ताहरूलाई निश्चित समयको लागि ब्राण्ड एम्बेस्डर बनाउँदा निकै उचित हुने देखेको छु ।’ यो मामिलामा सूर्यज्योति लाईफ इन्स्योरेन्स अग्रभागमा रहेर काम पनि गरिरहेको छ। म धन्यवाद दिन चाहान्छु अभिकर्तालाई एम्बेस्डर बनाउन योजना ल्याउनु हुने कम्पनीका महान हस्तीहरूलाई।’

जीवनमा आइपरेका हजारौं बाधा, अड्चनलाई आत्मसात् गर्दै यतिबेला सूर्यज्योति लाइफ इन्स्योरेन्सका अभिकर्ता घिमिरेले सरल राजमार्गमा आफ्ना पाइला चलाइरहेका छन् । ‘बीमा अभिकर्ता पेशा अँगाल्न जति सहज र सजिलो छ यसमा व्यवसायिक सफलता प्राप्त गर्न त्यति नै अप्ठ्यारो छ । यस्ता अप्ठ्यारालाई सहजतामा परिणत गर्न म प्रति विस्वास गर्नु हुने सम्पूर्ण विस्वासी मनहरू र सूर्यज्योति लाईफका सम्पूर्ण परिवारलाई धन्यवाद दिन चाहन्छु।’

गाउँ समाजमा एक असल नागरिकको परिचय बनाएका उनले विभिन्न आर्थिक अभाव भोगिरहेकाहरूलाई समेत सहयोग गरेर समाजसेवी तथा अधिकारकर्मीको रूपमा समेत आफ्नो परिचय बनाएका छन् । आफ्नै देशको माटोमा खुशी र सन्तुष्टी खोजिरेहका घिमिरेले देशभरीका बीमितहरूको हक, अधिकारको लागि आवाज उठाउँदै आएका छन् ।

उनले आफु आवद्ध कम्पनी मात्र नभएर १४ जीवन बीमा कम्पनी लगायत समग्र नेपाली जीवन बीमा क्षेत्रको विषयमा खरो रूपमा उत्रिदै आएका छन् । ‘बीमित नै मेरो लागि सर्वोपरी हुन् । बीमितहरूलाई पोलिसी लोन तथा दाबी भुक्तानी प्रक्रियाको समस्यालाई सधैं सहज बनाउन बीमा कम्पनीसँग बहस तथा स्वयं बीमितलाई भेटेर पनि सहजीकरण गर्दै आएको छु ।’

‘कुनै समय नेपाली बैंकहरूले ब्याजदर बढायो भन्दै पोलिसी लोनको ब्याजदर बढाएको बीमा प्राधिकरण र जीवन बीमा कम्पनीहरूले आज किन बैंकहरूले घटाउँदा घटाउन सकिरहेका छैनन् ? सरेण्डर बढी भयो भन्दै बाहानाबाजी गर्दै दुई वर्षमा उपलब्ध गराउँदै आएको पोलिसी लोनको समयसीमा ३ वर्ष बनायो, तर खै सरेण्डर घटेको ? उल्टै बढेको छ । नेपाली बीमा कम्पनीहरुले पनि ब्याजदर घटाउँनु पर्ने धारणा व्यक्त गरेका छन् । ‘बीमा प्राधिकरणले बीमा क्षेत्रको समस्या समाधान र दायरा विस्तारको लागि सबैभन्दा पहिले अभिकर्तासँग सवांद गर्नुपर्छ । तर, यसो गरिएको पनि कहिल्यै देखिएको छैन् ।’ उनले भने, ‘अभिकर्ताको महत्वलाई सम्बन्धित निकायले बुझ्न निकै जरुरी छ ।’

एक दशक बीमा क्षेत्रमा बिताएका घिमिरेले चलाएको बीमा अभियानले बीमा गरेर जीवन रक्षावरण गर्न चाहने बीमितलाई त राहत मिलेकै छ । त्यसबाहेक कमजोर आर्थिक अवस्था भएका घरपरिवारका बस्तीमा पनि उनले चलाएको बीमा अभियानले बीमा सचेतना अभियान समेत विस्तार भएको छ । आम नागरिकको सेवा गरी बीमा सचेतना बढाउने र भविष्यमा बीमाको क्षेत्रको दायरा अझ फराकिलो बनाउदै सबै नागरिकलाई बीमाको पहुँचमा ल्याउनु नै आफ्नो प्रमुख उदेश्य र लक्ष्य भएको बताएका छन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*