शेयर बजारमा छायो हरियाली, दोहोरो अंकले बढ्दा कारोबार ५ अर्बबढी

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार शेय बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक १०.८७ अंकले बढेर २६३३.७६ को बिन्दुमा कायम भएको छ ।
सोमबार भारी गिरावट भएको बजार आज सामान्य अंकले बढ्दा लगानीकर्ताहरुलाई राहत मिलेको छ । शेयर बजार बढेसँगै बुधबार कारोबार रकम पनि बृद्धि भएको छ । आज बजारमा कारोबार भएका ३४२ वटा कम्पनीहरुको एक करोड १९ लाख कित्ता शेयर खरिद–बिक्री हुदाँ पाँच अर्ब १३ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले शेयर बजारमैत्री नीति अपनाएको छ भने अर्थमन्त्रालय पनि बजारसम्बन्धी कदममा सकारात्मक रहेको देखिन्छ । राजनीतिक स्थिरता, नीतिगत सुधार र बैंकको ब्याजदर न्यून बिन्दुमा रहेकाले बजारले नयाँ यात्रा तय गर्ने विश्वास लगानीकर्तामा बढेको छ ।
बुधबार कारोबार भएका सम्पूर्ण सूचकहरुमा हरियाली छाएको छ । यसदिन बैंकिङ्ग इन्डेक्स र म्यानुफ्याक्चिरीङ लगायतका इन्डेक्सहरु सर्वाधिक बृद्धि भएका छन् । आज कारोबार भएका १६३ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ भने ८९ कम्पनीको घटेको छ ।













