आज अंग्रेजी क्यालेन्डरको नयाँ वर्ष

१७ पुष २०८२, बिहीबार ०८:२६

काठमाडौं । आज विश्वभर अंग्रेजी क्यालेन्डरको नयाँ वर्ष सन् २०२६ शुरु भएको छ। ग्रेगोरियन पात्रोअनुसार जनवरी १ तारिखबाट नयाँ वर्षको गणना हुने परम्परा रहेको छ।

ग्रेगोरियन पात्रो विश्वमा व्यापक रूपमा प्रयोग भइरहेको अंग्रेजी पात्रो हो। यो पात्रोको औपचारिक शुरुवात सन् १५८२ मा रोमन क्याथोलिक चर्चका पोप ग्रेगोरी तेह्रौंको पहलमा भएको हो।

यसअघि प्रयोगमा रहेको जुलियन पात्रोमा समय गणनामा वार्षिक केही मिनेटको त्रुटि देखिंदै गएकाले ऋतु र पात्रोबीच असन्तुलन बढ्दै गएको थियो। सो त्रुटि सच्याउन खगोलशास्त्री तथा विद्वानहरूको सुझावमा ग्रेगोरियन पात्रोको विकास गरिएको हो।

ग्रेगोरियन पात्रो लागू भएपछि शुरुमा युरोपका क्याथोलिक राष्ट्रहरूले र पछि क्रमशः अन्य युरोपेली देश, अन्तर्राष्ट्रिय व्यापार तथा कूटनीतिमा यसको प्रयोग बढ्दै गयो र विश्वव्यापी रूपमा लागू हुन गयो।

जनवरी १ लाई नयाँ वर्षका रूपमा मनाउने परम्पराको जरो प्राचीन रोमन सभ्यतासँग जोडिएको मानिन्छ। रोमन पात्रोमा जनवरी महीना ‘जानुस’ नामक रोमन देवताबाट प्रेरित रहेको र यसलाई नयाँ शुरुवात र परिवर्तनको प्रतीक मानिन्छ।

नेपालमा अंग्रेजी पात्रोलाई औपचारिक सरकारी पात्रोको रूपमा नभए पनि अन्तर्राष्ट्रिय सम्पर्क, कूटनीति, व्यापार, पर्यटन र शैक्षिक क्षेत्रमा व्यापक रूपमा प्रयोजनामा आएको पाइन्छ। तसर्थ पछिल्लो समय नेपालमा पनि अंग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*