सरकारी जग्गा हडप्ने चौधरी ग्रुपको योजनामा अख्तियारको हस्तक्षेप

१७ पुष २०८२, बिहीबार १३:००

काठमाडौं । शक्ति र सत्ताको आडमा सरकारी जग्गा हडप्न खप्पिस चौधरी समुहको योजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गरेको छ । अर्बपति बिनोद चौधरीका कान्छा भाई अरुण चौधरीको सिजी होल्डिङ्सले शक्ति र सत्ताको आडमा मन्त्रिपरिषद्लाई नै गुमराह बनाएर हदभन्दा भन्दा बढी राखेको ११५ रोपनी जग्गा अख्तियारले रोक्का गरीदिएको हो ।

पुराना राजनीतिक दल र तिनका नेताहरुको संरक्षणमा सामान्य परिवारबाट रातारात अर्बपति बनेको चौधरी समुहका कान्छाभाइ अरुण चौधरीले हदबन्दी भन्दा बढी जग्गा जमिन भेला पारी रातारात मालामाल बन्ने सपना यतिबेला अप्ठेरोमा परेको छ ।

नेता, प्रधानमन्त्री र मन्त्रीहरुसँग सेटिङ गरी गैर कानुनी काम गर्नु चौधरी ग्रुपको मुख्य धन्दा नै हो । अर्का भाइ बिनोद चौधरीले देशका मुख्य मुख्य व्यापारिक केन्द्रहरु आफ्नो कब्जामा लिइसकेका छन् । सोही क्रममा राजनीतिक पहुँचकै दुरुपयोग गरी चौधरीको सिजी होल्डिङ्गग्सले काभ्रेमा हदबन्दीभन्दा ११५ रोपनी १० आना जग्गा बढी प्रयोग गरिरहेको तथ्य उजागर भएसँगै अख्तियारले उक्त जग्गालाई छानविनको दायरामा ल्याएर तत्कालको लागि रोक्का गरिदिएको छ ।

विभिन्न जग्गा काण्डबाट सजिलै उम्किदै आएको सिजि समुहलाई काभ्रेको यस जग्गा काण्डले निकै अप्ठ्यारो पार्ने देखिएको छ । जेन–जी आन्दोलनपछि निकै सक्रिय बनेको अख्तियारले सिजि होल्डिङ्गग्सको ११५ रोपनी जग्गा काण्डलाई विशेष प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाएको छ ।

काभ्रेको पनौती नगरपालिका–९ खोपास्थित सिजी होल्डिङ्गग्सको स्वामित्वमा रहेको १ सय १५ रोपनी जग्गा गैरकानुनी तरिकाले खरिद–बिक्री भएको कारण अख्तियारले रोक्का गरिदिएको हो ।

देशका सरकारी निकायलाई समेत प्रभावमा पारेर त्रिशक्ति सिमेन्टले २०४२ सालमै २ सय १३ रोपनी जग्गा हात पारेको थियो । ५७ सालमा मन्त्रिपरिषद्बाट निर्णय गराएर ११५ रोपनी जग्गा चाँदबाग स्कूल र सीजी होल्डिङ्गग्सलाई विक्री गरेको भेटिएको हो । दुई वर्षभित्र अन्यत्र जग्गा खरिद गरी बिक्री गर्ने सर्तमा मन्त्रिपरिषद्ले खोपासीको जग्गा बिक्री गर्न अनुमति दिएको थियो ।

तर, त्रिशक्तिले दुई वर्षभित्र अन्यत्र जग्गा किनुको सट्टा उल्टै २३ मंसिर २०५७ मा चौधरीको एकल नाममा पास गरिदिएको थियो । सोही जग्गा त्रिशक्ति सिमेन्ट हुँदै सीजी होल्डिङ्सको स्वामित्वमा गैरकानुनी रुपमा पुगेको देखिएको छ । गैर–कानुनी रुपमा खरिद भएको सोही जग्गामा हाल सिजि होल्डिङ्गग्सले हाउजिङ बनाइरहेको छ । हाउजिङ बनाइरहेको जग्गा नै रोक्का गरिदिएपछि सो ठाउँमा जग्गा किनेका थुप्रै लगानीकर्ताहरु अप्ठेरोमा पर्ने भएका छन् ।

नेपालको अर्बपति समुह बनेको सिजी ग्रुपले देशका थुप्रै ठाउँहरुमा सरकारी जग्गा हड्प्ने गरेका घटनाहरु प्रसस्तै रहेका छन् । बासबारी जग्गा काण्ड देखि लिएर सानेपा हाइटमा बनिरहेको समिट होटेल होस् वा भैसेपाटीको सिजि हाउजिङ्ग तथा पुल्चोकको द प्लाजा लगायतका सरकारी जग्गा हिनामिना प्रकरणमा चौधरी समुहका दुई दाजुभाइ प्रत्यक्ष संलग्न हुँदै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*