कालोबजारी र ठगी नियन्त्रणका लागि अनुगमन तीव्र, एक फर्मलाई नगद जरिवाना

१८ पुष २०८२, शुक्रबार १०:३०

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा एकै दिन काठमाडौँ उपत्यकाका १७ वटा फर्ममा निरीक्षण गरेको छ । उपभोक्ताको हक–अधिकार सुनिश्चित गर्ने उद्देश्यले गरिएको अनुगमनका क्रममा एक फर्मलाई नगद जरिवाना गरिएको छ भने बाँकी फर्मलाई सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ ।

विभागका अनुसार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गरेको पाइएपछि उग्रचण्डी खाद्यान्न स्टोरलाई २० हजार रुपैयाँ जरिवाना गरिएको हो । सो फर्मले ऐनको दफा १५ तथा दफा ३८ (घ) बमोजिम कसुर गरेको ठहर भएसँगै दफा ३९ (१) (क) अनुसार कारबाही गरिएको विभागले स्पष्ट पारेको छ ।

यस्तै, निकन्टिनेन्टल प्रालिलाई व्यवसाय सञ्चालनसँग सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । कागजातको प्रारम्भिक जाँचका क्रममा थप स्पष्टता आवश्यक देखिएकाले अनुसन्धानका लागि बोलाइएको विभागले जनाएको छ ।

अनुगमनमा परेका बाँकी १५ वटा फर्मलाई भने मूल्यसूची अद्यावधिक गर्न, सरसफाइमा ध्यान दिन, म्याद गुज्रिएका सामग्री हटाउन तथा बिलबिजक सही रूपमा प्रयोग गर्नेलगायत विषयमा सुधारात्मक निर्देशन दिइएको छ । तोकिएको समयभित्र सुधार नगरे पुनः कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत विभागले दिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सरोकारवाला निकायको सहभागितामा नियमित रूपमा बजार अनुगमन गर्दै आएको जनाएको छ । बजारमा कालोबजारी, ठगी, मिसावट तथा उपभोक्तामाथि हुने अन्याय रोक्न अनुगमनलाई अझ प्रभावकारी बनाइने विभागको भनाइ छ ।

विभागका अनुसार उपभोक्तालाई सुरक्षित, गुणस्तरीय तथा उचित मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने उद्देश्यले बजार अनुगमनलाई निरन्तरता दिइनेछ । उपभोक्तालाई कुनै समस्या परेमा विभागमा उजुरी दिन आग्रहसमेत गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*