कर्णाली डेभलपमेन्ट बैंकमा निक्षेपको दुरूपयोग गरी हकप्रद उठाउनेको शेयर लगत रद्द

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले अवैधानिक रूपमा चुक्ता भएको शेयर पुँजी घटाएको छ । बैंकका संस्थापक तथा पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, राजेन्द्र वीर रायलगायतले हकप्रद शेयर खरिद गर्दा निक्षेपकर्ताको रकम दुरूपयोग गरेको पुष्टि भएपछि यस्तो कदम चालिएको हो । यसअघि मंसिर १ गते सूचना प्रकाशित गर्दै उक्त पूँजी घटाउन लागेको जानकारी दिएको थियो ।
हकप्रद शेयर खरिदका क्रममा निक्षेपकर्ताको रकम प्रयोग गरी चुक्ता नगरीएको देखिएपछि सम्बन्धित शेयरधनीको शेयर लगत खारेज गर्दै बैंकको चुक्ता पुँजी घटाइएको हो । कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेपछि नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले सूचना जारी गर्दै अवैधानिक रूपमा चुक्ता भएको पुँजी खारेज गरिएको जनाएको छ ।
शेयर खारेजसँगै बैंकको शेयरधनी संरचना पनि उल्लेखनीय रूपमा घटेको छ । संस्थापक समूहका शेयरधनीको नाममा रहेका २१ लाख ३६ हजार ६०.८४ कित्ता शेयर घटेर अब २१ हजार ३६०.६१ कित्ता मात्र कायम रहनेछन् । यस्तै, सर्वसाधारण समूहअन्तर्गत १२ हजार ८८४ कित्ता शेयर भएका शेयरधनीको शेयर संख्या घटेर १२६.८५ कित्ता मात्र कायम गरिएको छ ।
यस प्रक्रियामा संस्थापक समूहका २५ जना तथा साधारण समूहका १० जना शेयरधनीको शेयर पुँजी घटाइएको छ । नेपाल राष्ट्र बैंकको २०८१ पुस ११ गतेको निर्णयअनुसार कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरी यसको व्यवस्थापन तथा सञ्चालन राष्ट्र बैंकबाट नियुक्त व्यवस्थापन समूहमार्फत भइरहेको छ ।
सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्दा बैंकको चुक्ता पुँजी क्षय भएको, दायित्व सम्पत्तिले नखाम्ने अवस्था देखिएको र केही शेयरधनीबाट चुक्ता हुनुपर्ने शेयर पुँजी अवैधानिक रूपमा चुक्ता गरिएको पुष्टि भएपछि बैंकको पुनर्संरचना प्रक्रिया अघि बढाइएको हो । यही क्रममा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ङ. को उपदफा (१) को खण्ड (थ) तथा खण्ड (ज) र दफा ८६ ज. बमोजिम सम्बन्धित शेयरधनीको शेयर पुँजी घटाई १ प्रतिशत मात्र कायम गरिएको व्यवस्थापन समूहले जनाएको छ ।














