बैंक र वित्तीय संस्थामा बागमती प्रदेशको दबदबा: कुल निक्षेप ६५% र कर्जामा ५९% हिस्सेदारी

१८ पुष २०८२, शुक्रबार १३:३१

काठमाडौं। बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप र कर्जामा बागमती प्रदेशको हिस्सेदारी सबैभन्दा बढी रहेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन २०७८/८२ को वार्षिक प्रतिवेदन अनुसार, २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट परिचालित कुल निक्षेपमा बागमती प्रदेशको अंश ६५.८ प्रतिशत रहेको छ भने कुल कर्जामा ५९.५ प्रतिशत रहेको छ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले कुल ७२ खर्ब ९५ अर्ब ६९ लाख ३० हजार रुपैयाँ निक्षेप सङ्कलन गर्दा बागमती प्रदेशबाट मात्र ४७ खर्ब ९७ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ उठेको छ। अन्य प्रदेशमा कोशीबाट ५ खर्ब ५३ अर्ब ३ करोड ७९ लाख, मधेस प्रदेशबाट ४ खर्ब ७ अर्ब ७३ करोड ७२ लाख, गण्डकीबाट ६ खर्ब १२ अर्ब २९ करोड ५७ लाख, कर्णालीबाट ९१ अर्ब ९ करोड, सुदूरपश्चिमबाट १ खर्ब ७३ अर्ब ८३ करोड रुपैयाँ निक्षेप सङ्कलन भएको छ।

कर्जा प्रवाहमा पनि बागमती प्रदेश अग्रणी रहँदै ५५ खर्ब ८६ अर्ब २९ करोड २२ लाख रुपैयाँको कुल कर्जामध्ये ३३ खर्ब २३ अर्ब ३१ करोड ६१ लाख रुपैयाँ बागमती प्रदेशबाट लगानी भएको छ। अन्य प्रदेशमा कोशीबाट ६ खर्ब १३ अर्ब ३८ करोड ९६ लाख, मधेसबाट ४ खर्ब ९५ अर्ब ८६ करोड, गण्डकीबाट ३ खर्ब ५६ अर्ब ९२ करोड ५७ लाख, लुम्बिनीबाट ५ खर्ब ७७ अर्ब २७ करोड ६१ लाख, कर्णालीबाट ६२ अर्ब १२ करोड र सुदूरपश्चिमबाट १ खर्ब ५७ अर्ब ४० करोड ४१ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।

कृषि क्षेत्रमा प्रवाहित कर्जा २०८२ असार मसान्तसम्म ३ खर्ब ३६ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा ०.०४ प्रतिशतले घटेको हो। सबैभन्दा बढी कर्जा पशुपालन र पशु बधशाला शीर्षकमा ६१ अर्ब १९ करोड र सबैभन्दा कम सुर्तीमा २० करोड ६५ लाख रुपैयाँ प्रवाहित भएको छ। कृषि क्षेत्रमा कोशी प्रदेशको अंश १६.७, मधेस १८.७, बागमती ३६.२, गण्डकी ७.१, लुम्बिनी १५, कर्णाली १.५ र सुदूरपश्चिम ४.७ प्रतिशत रहेको छ।

औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा १६ खर्ब ९९ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। यसमा सबैभन्दा बढी गैरखाद्य वस्तु उत्पादन उद्योगमा ३५.२७, विद्युत्, ग्यास तथा पानी उद्योगमा २६.२६, कृषि, वन तथा पेयपदार्थ उद्योगमा २१.८५, निर्माण उद्योगमा ११.७, धातु उत्पादन, मेसिनरी र इलेक्ट्रोनिक उद्योगमा ४.२३ र खानी उद्योगमा ०.६९ प्रतिशत कर्जा प्रवाह भएको छ। औद्योगिक कर्जा अन्तर्गत बागमती प्रदेशको हिस्सा ७१.३ प्रतिशत रहेको छ भने अन्य प्रदेशमा कोशी ९.५, लुम्बिनी ८.३, मधेस ७.५, गण्डकी १.६, कर्णाली ०.२ र सुदूरपश्चिम १.६ प्रतिशत रहेको छ।

सेवा क्षेत्रमा गत आवको अन्त्यसम्म कर्जा प्रवाह २१ खर्ब ८४ अर्ब ४ करोड पुगेको छ। सेवा क्षेत्रका उपक्षेत्रमध्ये थोक तथा खुद्रा बिक्रेतामा सबैभन्दा बढी ४७.३, रियल स्टेटमा १२.२, पर्यटनमा ११.८, वित्त, बीमा तथा अचल सम्पत्तिमा ११.३, शिक्षा ६.६, यातायात, भण्डारण र सञ्चारमा ३.७, अन्य सेवामा ३.७ र स्वास्थ्य तथा सामाजिक कार्यमा ३.३ प्रतिशत कर्जा प्रवाह भएको छ। सेवा क्षेत्रमा बागमती प्रदेशको हिस्सेदारी ५९.५ प्रतिशत रहेको छ। अन्य प्रदेशमा लुम्बिनी १०.३, कोशी १०.१, मधेस ९, गण्डकी ६.९, कर्णाली १.१ र सुदूरपश्चिम ३ प्रतिशत रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*