वित्तीय रुपमा अब्बल अपर हेवा खोला हाइड्रोपावर, क्रेडिट रेटिङमा सुधार

काठमाडौं । अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडको वित्तीय अवस्था मजबुत बन्दै गएपछि क्रेडिट रेटिङ सुधार गरिएको छ । केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीको इश्यूअर रेटिङलाई ‘त्रिपल बी माइनस’ मा पुर्याएको छ, जुन रेटिङ भएका संस्थाहरूले समयमै आफ्ना वित्तीय दायित्वहरू पुरा गर्ने मध्यम सुरक्षा दिने मानिन्छ ।
त्यसैगरी, कम्पनीका दीर्घकालीन बैंक सुविधाहरूको रेटिङ पनि ‘त्रिपल बी माइनस’मा सुधार गरिएको छ भने छोटो अवधिका बैंक सुविधाहरूको रेटिङ ‘ए थ्री’मा पुगेको छ । यसअघिका रेटिङहरू क्रमशः डबल बि प्लस र ए४ प्लस थिए । यस सुधारमा कम्पनीको वित्तीय जोखिम प्रोफाइलमा देखिएको सकारात्मक परिवर्तन मुख्य कारण रहेको छ ।
निरन्तर नगद प्रवाह र सुधारिएका ऋण सेवा सूचकाङ्कहरूले कम्पनीको दायित्व पूरा गर्ने क्षमता र तरलता स्थिति बलियो बनाएको छ । रेटिङ सुधारमा कम्पनीको अनुभवी प्रवर्तक र व्यवस्थापन टोली, पर्याप्त समय अवधिको विद्युत खरिद सम्झौता र मध्यम प्रतिपक्ष जोखिमले पनि भूमिका खेलेको छ । साथै, सरकारले विद्युत क्षेत्रप्रति लिएको अनुकूल नीतिहरूले पनि कम्पनीको वित्तीय स्थिति सुदृढ बनाउन सहयोग गरेको छ ।
कुल बैंकिङ सुविधा रकम ९५९.५२ लाख रुपैयाँ कायम गरिएको छ, जसमा दीर्घकालीन बैंक सुविधा ९१७.९२ लाख र छोटो अवधिको बैंक सुविधा ४१.६० लाख रुपैयाँ रहेको छ ।












