विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षा समावेश गरिने

१९ पुष २०८२, शनिबार २०:०४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षा समावेश गर्ने प्रक्रिया अगाडि बढाएको छ। प्राधिकरणले ललितपुरको कुपण्डोलस्थित आफ्नै केन्द्रीय कार्यालयमा पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शैक्षिक गुणस्तर परीक्षण केन्द्र र सामाजिक अध्ययन विषयका विज्ञहरूसँग अन्तरक्रिया गरी यस विषयमा ठोस छलफल गरेको हो।

विद्यालय तहको अनिवार्य विषय सामाजिक अध्ययनको पाठ्यपुस्तक परिमार्जन तथा पुनर्लेखन गर्दा बीमाका विषयवस्तुलाई प्राथमिकताका साथ समेट्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले विद्यालय तहदेखि नै बीमाको आवश्यकता र महत्त्व बुझाउनु आवश्यक रहेको बताए। उनले बीमालाई मानव जीवनको अभिन्न अङ्गका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै सानैदेखि यसका बारेमा जागरूक गराउन सकेमा जीवन र सम्पत्तिको वित्तीय सुरक्षण हुने उल्लेख गरे। बीमाको दायरा बढ्दा लागत घट्ने, जोखिम न्यूनीकरण हुने र समग्रमा मुलुकको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ छ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले पाठ्यक्रम परिमार्जनको क्रममा बीमा शिक्षालाई सन्तुलित रूपमा समावेश गरिने जानकारी दिए। उनले परिमार्जित पाठ्यक्रम सबै प्रक्रिया पूरा गरी आगामी २०८४ सालको शैक्षिक सत्रदेखि देशभर लागू हुने स्पष्ट पारे।

यस्तै, त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा।डा। राम कृष्ण तिवारीले पाठ्यपुस्तक लेखन र प्रश्नपत्र तयारी गर्दा बीमाका विषयवस्तुलाई समेट्न विज्ञ तथा लेखकहरूलाई आग्रह गरे।

प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्रस्तावित पाठ्यक्रम र शिक्षक निर्देशिकाका लागि आवश्यक विषयवस्तु पहिचान गरी केन्द्रलाई सुझाव उपलब्ध गराउने बताए। अन्तरक्रियामा कक्षा ४ देखि १२ सम्मको सामाजिक अध्ययन विषयमा बीमा शिक्षाका कुन–कुन पक्ष समावेश गर्न सकिन्छ भन्नेबारे विस्तृत छलफल भएको थियो।

कार्यक्रममा उपनिर्देशक पदम प्रसाद सोडारीले बीमा शिक्षा सम्बन्धी प्रस्तुति दिएका थिए भने विभिन्न निकायका पदाधिकारी र लेखकहरूको सहभागिता थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*