सोलु हाइड्रोपावरले पुस २९ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै पुस २९ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा आयोजना प्रभावितलाई १ करोड कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई १० लाख कित्ता निष्कासन गरिसकेको छ।
कम्पनीले अब बाँकी ९० लाख कित्तामध्ये ५ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख कित्ता कम्पनीमा कार्यरत् कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ८२ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गर्न लागेको हो।
यसमा पुस २९ गतेदेखि माघ ४ गते बैंकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ। तर उक्त अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा भने माघ १४ गतेसम्म निष्कासन अवधि लम्बिनेछ। आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिनेछ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आइआरएन डबल बी इस्यूअर रेटिङ्ग’ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन्।












