शिखर इन्स्योरेन्सको टोली जुम्लामा, स्याउ बगैंचामा पुगेर कृषकको गुनासो सुन्दै

२० पुष २०८२, आईतवार ११:००

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको केन्द्रिय कार्यालयको टोली स्याउ बगैंचामा पुगेर कृषकको बीमा प्रतिको गुनासो सुन्न जुम्ला पुगेको छ ।

स्याउ बीमामा पछिल्लो समय विवाद देखिएपछि टोली बगैंचामै पुगेर कृषकहरुको गुनासो सुन्न जुम्ला पुगेको हो । शिखर इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक उदितप्रसाद काफ्ले नेतृत्वको टोली, स्याउ बीमा पीडित पहल समिति र तातोपानी गाउँपालिकाका जनप्रतिनिधिको टोली बगैंचामै पुगेको हो ।

पटक–पटक जुम्लाका प्रमुख जिल्ला अधिकारी प्रदीप पौडेलको रोहबरमा वार्ता हुँदा पनि निष्कर्षमा नपुगिएपछि किसानहरुको माग बमोजिम सो समयको मौसम, अन्तरपालिकाको भौगोलिक स्थित मौसम तथा जलवायु मापन प्रविधिबारे बुझ्न टोली स्थलगत अध्ययनमा निस्किएको थियो ।

टोलीले चन्दननाथ नगरपालिका वडा नं ८,९ सिमाना जोडिएका तातोपानी ५ श्रीनगर र चन्दननाथ १० को खल्ला र लाग्नासँग सिमाना जोडिएका तातोपानी वडा नं ४ नियापानी, पोरिहाँकु, हाँकुपोखरीखालको भूगोल अध्ययन गरेको छ ।

तातोपानी वडा नं ६ बाजारावला अवस्थित मौसम तथा जल मापन साईरन प्रविधि र स्याउ फारमहरुको अवलोकन, तातोपानी वडा नं २ डाँगीवाडा स्थित जलवायु मौसम मापन केन्द्रको स्थलगत प्रविधि र रिपोटिङ सिस्टमको अध्ययनसमेत गरेको वडाध्यक्ष रोकायाले जानकारी दिए ।

टोलीले तिला गाउँपालिका र तातोपानी गाउँपालिकाको भौगोलिक सिमाना क्षेत्र वडा नं १ राँका बाईराँका र तरापी क्षेत्रको भौगोलिक बनावटको अध्ययन गर्नुका साथै तातोपानी ७ को कयारकोट र तिला गाउँपालिका बिचको भूस्थितिको समेत अवलोकन गरेको थियो ।

टोलीले स्थलगत अध्ययनबाट निकालेको निष्कर्षसहितको प्रतिवेदन बिहीबार बस्ने वार्तामा पेस हुने भएको छ । यता किसानले गत आइतबार देखि सदरमुकाम खलंगामा निरन्तर आन्दोलन गरिरहेका छन
तत्काल स्याउ बीमा गरे बापतको रकम निकासा गरि किसानले माग्दै आएको समस्या सम्वोधन गर्न माग गरिएको छ । जिल्लाको पातारासी, कनकासुन्दरी र तातोपानीका किसानहरु हप्तादिन देखि खलंगाका सडकमा आएर नारा जुलुस गर्ने, धर्नामा बस्नेदेखि स्थानीय प्रशासन कार्यालयमा माग लिएर क्षतिपूर्ति उपलब्ध गराइदिन माग गरिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*