नेपालका कम्युनिष्ट पार्टीहरु नाम मात्रैका, भेनेजुएला प्रकरणमा अमेरिकाको विरोध गर्न असफल

काठमाडौं । स्वतन्त्र राष्ट्र भेनेजुएलामा अमेरिकाले गरेको सैन्य हमला र जननिर्वाचित राष्ट्रपति निकोलस मादुरोको कब्जालाई लिएर संसारभरबाट विरोध भइरहेको छ । पछिल्लो जानकारी अनुसार भेनेजुएलाका राष्ट्रपति मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले न्यूयोर्क लगेको बताइँदै छ । दुबैलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको बताइए पनि उनीहरुको अवस्था सार्वजनिक गर्न चौैतर्फी माग भइरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरोको आँखामा पट्टी बाँधिएको तस्बिर सार्वजनिक गरेपछि झनै अमेरिकाको विश्वव्यापी विरोध भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आतंकवाद र लागूऔषधविरुद्धको अपरेशन भन्दै सुरक्षा तथा न्यायको लागि सैन्य आक्रमण गरेको जिकिर गरिरहेका छन् । अमेरिकाले विमानस्थल, सैनिक अड्डा लगायतका स्थानमा आक्रमण गरेको हो ।
भेनेजुयलाका अमेरिकी एजेन्ट र सानो सैन्य टिमको सहयोगमा त्यहाँका राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई कब्जामा लिइएको बताइँदै छ । मादुरोलाई आगामी साता ड्रग्सको अवैध कारोबार र तेलको अवैध कारोबार गरेको आरोपमा अमेरिकी अदालतमा पेश गर्ने भनिएको छ ।
भेनेजुयलामा अमेरिकी आक्रमणको विरोधमा मेक्सीकोमा विशाल प्रदर्शन भयो भने फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोंले सहजीकरण गर्न गरेको प्रस्ताव गरे । तर, एउटा स्वतन्त्र राष्ट्रमाथि गरिएको सैन्य आक्रमणबारे नेपाल सरकारले भने कुनै प्रतिक्रिया नजनाएकोप्रति धेरैले शंका गरेका छन् । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले यो विषयमा नेपाल सरकार बोल्नु पर्ने बताए । उनले भने, ‘यो बोल्नु पर्ने नै विषय हो । एउटा स्वतन्त्र राष्ट्रका पक्षमा बोल्नु पर्दछ । अमेरिकी शैली जंगली राज जस्तो भयो । ‘जसका लाठी, उसका भैंस’हुनुहुँदैन । अमेरिकाले अन्य जे सुकै आरोप लगाए पनि भेनेजुएलाको तेल कब्जा गर्ने नै नियत हो । त्यो शोषण गलत छ ।’ यस्तो संवेदनशील विषयमा नेपाल बोल्नु पर्ने धारणा परराष्ट्रविद् श्रेष्ठको छ । यस्तै, सर्वहारावर्ग र जनवादी क्रान्तिको ध्वाँस दिइरहने नेपालका कम्युनिष्ट पार्टीहरु समेतले भेनेजुएलामाथि अमेरिकाले गरेको दमनलाई टुलुटुलु हेरेर बसिरहेका छन् ।
आक्रमण लगत्तै पूर्व प्रधानमन्त्री झलनाथ खनालले व्यक्तिगत रुपमा विज्ञप्ति निकाले पनि उनीआवद्ध नेपाली कम्युनिष्ट पार्टीले आधिकारिक वक्तव्य निकालेको छैन । बरु नेकपा मसालका महासचिव मोहनविक्रम सिंह दौडाहाका क्रममा बुटवल पुगेका भए पनि समयमै भेनेजुएला आक्रमणको विरोध गरे । यो प्रकरणमा आक्कल झुक्कल झारा टार्ने प्रवृत्तिका प्रतिक्रिया तथा वक्तव्यवाजी भए पनि अमेरिकी शोषणको विरोध गर्न नेपालका कम्युनिष्ट पार्टीहरु असफल भएको टिप्पणी हुन थालेको छ । अरु बेला चर्का कुरा गर्ने नेपाल मजदुर किसान पार्टी समेत यो प्रकरणमा चुकेको छ ।
जननिर्वाचित एवं समाजवादी सरकारले अमेरिकी कम्पनीलाई राष्ट्रियकरण गरेपछि भेनेजुयलामाथि नाकाबन्दी लगाउन थालेकामा अमेरिकाले आफु अनुकुल काम गर्न नमानेपछि सैन्य आक्रमण गरेर राष्ट्रपतिलाई नै अपहरण गरेको जिकिर नेकपा मसालले विज्ञप्तिमार्फत गरेको छ । भेनेजुयलामाथि ड्रग्स कारोबारसम्बन्धी आरोप अमेरिकी बहाना मात्रै भएको र त्यहाँ चीनलाई नाकाबन्दी गर्न खोजिएको तर्क नेकपा संयुक्तका नेता साध्यबहादुर भण्डारीले गरेका छन् ।
अमेरिकाले भेनेजुएलाको तेलमाथि कब्जा गरेर चीनलाई चौपट पार्न खोजेको हो, नेता भण्डारीले भने, ‘तेलका लागि प्रख्यात भेनेजुएलाबाट चीनले सबैभन्दा धेरै तेल खरिद गर्छ । चीनले ९० प्रतिशत तेल भेनेजुएलाबाटै किन्ने हो । त्यहाँ प्रचुर चिनियाँ लगानी भएको देखेपछि अमेरिकालाई जलन भएको हो ।’
अहिले सम्पूर्ण विश्वको ध्यान भेनेजुएलामाथि भएको बताउँदै उनले अपहरण गरिएका मादुरोलाई सार्वजनिक गर्न माग गरेका छन् । अघिल्लो कार्यकाल राष्ट्रपति हुँदा ट्रम्पले ह्वाङ गाइजुलाई सडकबाट राष्ट्रपति घोषित गर्न लगाएका थिए । गाइजु तत्कालीन समयमा सभामुख थिए । पछि अमेरिकामा जो बाइडेन राष्ट्रपति भएर आएपछि त्यसरी सडकबाट राष्ट्रपति घोषित गरिएका गाइजु हराए र निकोलस मादुरो निर्वाचित भएर राष्ट्रपति भएर आए । फेरि अमेरिकामा ट्रम्पको उदय हुनासाथ नाकाबन्दी गर्नेदेखि सैन्य आक्रमण गरेर निर्वाचित राष्ट्र प्रमुखलाई नै अपहरण गरेर अमेरिका लगिएको छ ।












