अख्तियार प्रमुख राईलाई ज्यान मार्ने धम्की दिने पाठक फिलिपिन्समा पक्राउ, नेपाल ल्याउने तयारी

काठमाडौं । भ्रष्टाचार आरोपी तत्कालीन नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको डिजाइनमा अख्तियार प्रमुख प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन् । काभ्रे घर भएका पाठकले भ्रष्टाचार आरोपी तत्कालीन महानिर्देशक अधिकारीसँग सुपारी लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राईलाई ज्यान मार्ने धम्की दिएको आरोप छ । पाठक फिलिपिन्सबाट पक्राउ परेका हुन् ।
त्यहाँको प्रहरीले उनलाई पक्राउ गरेर फिलिपिन्सस्थित अध्यागमन विभागलाई बुझाएको छ । र, उनलाई अध्यागमनको हिरासतमा राखेर देश निकालाको प्रक्रिया पूरा गरी नेपाल ल्याउने तयारी भइरहेको अध्यागमन प्रहरीले जनाएको छ ।
पाठकले भक्तपुरको नलिन्चोक हेलिप्याड निर्माणका बिचौलिया नविन बस्नेत, महानिर्देशक प्रदिप अधिकारीको सुपारी लिएर राईको हत्या गर्ने धम्की दिएको आरोपमा पक्राउ परेका बताइएको छ । भक्तपुरको नालिन्चोक हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा अधिकारीलाई विशेष अदालतले कारागार चलान गरिसकेको छ । उग्रवादी समुहका प्रमुख भनिने प्रकाश पाठकले राईसहित १० व्यक्तिको हत्या गर्ने र हत्याका लागि जेलबाट भागेका कैदीको सहारा लिने भन्दै अख्तियारमै उजुरी हालेका थिए ।
अध्यागमन विभागका अनुसार ३३ वर्षीय पाठकलाई फिलिपिन्स ट्रान्सनेसनल क्राइम केन्द्रसँगको आधिकारिक समन्वय मार्फत पक्राउ गरिएको हो । पाठकलाई काठमाडौं जिल्ला अदालतले डिसेम्बर १, २०२५ मा आपराधिक विश्वासघात गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको छ । त्यस्तै अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोलमार्फत डिसेम्बर १२ मा पाठकविरुद्ध डिफ्यूजन जारी गरेको थियो । पाठकले नेपालमा जेन–जी आन्दोलनपछि फरार रहेका कैदीमार्फत राईसहितका उच्च अधिकारीको हत्या गराउने धम्की दिएका थिए ।












