बैंकबाट ऋण लिएर घर बनाउने बढे, सस्तो ब्याजदर र सहज नीतिले उत्साह

२० पुष २०८२, आईतवार १४:२३

काठमाडौँ । निजी आवासीय कर्जा आकार निरन्तर बढ्दो क्रममा रहेको छ । निरन्तर घटी रहेको ब्याजदर र नियामकको सहज नीतिका कारण पछिल्लो समय बैंकबाट ऋण लिएर घर बनाउने वा किन्नको संख्या वृद्धि भइरहेको हो ।

बैंकहरूले २ करोड रुपैयाँसम्म व्यक्तिगत आवासीय कर्जा दिने प्रावधान ल्याएपछि धेरैले आफ्नो घर बनाउने वा किन्ने सपना पुरा गर्न कर्जा लिन थालेका छन् । सस्तो ब्याजदर, किस्ता व्यवस्थापनमा सुविधा र आकर्षक योजनाहरूले कर्जाको माग बढाएको छ । यसले निर्माण सामग्री, श्रम, साजसज्जा र आवास विकास कम्पनीहरूको व्यवसायमा समेत सकारात्मक असर पारेको छ भने समग्र आर्थिक वृद्धिको संकेत पनि देखिएको छ ।

पछिल्लो समय वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले व्यक्तिगत आवास शीर्षकमा दिएको कर्जा बढ्दै पाँच खर्ब रुपैयाँ नजिक पुगेको छ। चालू आर्थिक वर्षको कात्तिकसम्म बैंक तथा फाइनान्स कम्पनीहरूले कुल ५६ खर्ब ३३ अर्ब ४६ करोड ५० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गर्दा व्यक्तिगत आवास शीर्षकमा मात्र चार खर्ब ४२ अर्ब १३ करोड ७० लाख रुपैयाँ प्रवाह भएको छ। यो कर्जा गत आवको सोही अवधिको तुलनामा ४४ अर्ब ९० करोड ३० लाख रुपैयाँले बढी हो।

गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले कुल ५२ खर्ब ८० अर्ब २८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा व्यक्तिगत आवास शीर्षकमा तीन खर्ब ९७ अर्ब २३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। नेपाल राष्ट्र बैंकका अनुसार विगतमा एक करोड ५० लाख रुपैयाँसम्मको कर्जा व्यक्तिगत आवास शीर्षकमा राखिन्थ्यो भने, चालू आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका क्रममा तीन करोड रुपैयाँसम्मको कर्जा यस शीर्षकमा राखिएको हुँदा व्यक्तिगत आवास कर्जा बढेको देखिएको छ।

वाणिज्य बैंकहरूले चालू आवको कात्तिक मसान्तसम्ममा कुल ५० खर्ब ९ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गर्दा व्यक्तिगत आवास शीर्षकमा तीन खर्ब ४३ अर्ब ४१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यो गत आवको सोही अवधिको तुलनामा २३ अर्ब ७६ करोड ६० लाख रुपैयाँले बढी हो। गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ४६ खर्ब ७० अर्ब ६३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा व्यक्तिगत आवास शीर्षकमा तीन खर्ब १९ अर्ब ६४ करोड ६० लाख रुपैयाँ प्रवाह गरेका थिए।

विकास बैंकहरूले चालू आवको कात्तिक मसान्तसम्ममा कुल पाँच खर्ब २१ अर्ब १६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा व्यक्तिगत आवासतर्फ मात्र ८२ अर्ब ९१ करोड रुपैयाँ प्रवाह गरेको छ। गत आवको सोही अवधिको तुलनामा यो १९ अर्ब ३६ करोड २० लाख रुपैयाँले बढी हो। गत आवको सोही अवधिमा विकास बैंकहरूले कुल पाँच खर्ब सात अर्ब ६३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा व्यक्तिगत आवासतर्फ ६३ अर्ब ५४ करोड ५० लाख रुपैयाँ प्रवाह गरेका थिए।

फाइनान्स कम्पनीहरूले चालू आवको कात्तिक मसान्तसम्ममा कुल एक खर्ब तीन अर्ब २५ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा व्यक्तिगत आवास शीर्षकमा १५ अर्ब ८१ करोड ८१ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत आवको सोही अवधिको तुलनामा यो कर्जा एक अर्ब ७७ करोड २० लाख रुपैयाँले बढी हो। गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब दुई अर्ब एक करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा व्यक्तिगत आवास शीर्षकमा १४ अर्ब चार करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*