बुढीगंगा नगरपालिकाको भवन ठेक्कामा साढे ३ करोड हिनामिना, पूर्वमेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२० पुष २०८२, आईतवार १७:०७

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाका तत्कालीन नगर प्रमुख दीपकविक्रम शाहसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानि–नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारका अनुसार कैलालीको धनगढीस्थित जाग्रिति/एमके/नेपाल जेभीविरुद्ध समेत सोही मुद्दामा आरोपपत्र दायर गरिएको छ । बुढीगंगा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गर्दै १२ करोड २४ लाख ८१ हजार ३८७ रुपैयाँको बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत गरेको थियो ।

बोलपत्र मूल्यांकन समितिको सिफारिसका आधारमा ९ करोड ९४ लाख ५१ हजार ३६९ रुपैयाँमा जाग्रिति/एमके/नेपाल जेभीको बोलपत्र स्वीकृत गरिएको थियो । तर, निर्माण व्यवसायीसँग मिलेमतो गरी देशमा कतै प्रयोग नभएको योग्यताको आधार लिई ठेक्का सम्झौता गरिएको अख्तियारको ठहर छ ।

अख्तियारका अनुसार न्यूनतम कबोल गर्ने बोलपत्रदाताको कबोल अंकसँग तुलना गर्दा ३ करोड २७ लाख ७८ हजार १७० रुपैयाँ बराबरको रकम हिनामिना भएको पाइएको छ । सो हिनामिनामा तत्कालीन नगर प्रमुख शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पनाकुमारी ठकुल्ला, प्रशासकीय अधिकृत नरेन्द्र नाथ, शिक्षा अधिकृत जयराज न्यौपाने, इन्जिनियर पारस खाती, सबइन्जिनियर गणेशराज रेग्मी, असिस्टेन्ट सबइन्जिनियर भीमराज गिरी, लेखापाल नवराज जोशी, खरिदार श्यामबहादुर खत्री, प्रशासन सहायक बसन्तबहादुर थापा, नायब प्रशासन सहायक सिद्धराज जैसी तथा जाग्रिति/एमके/नेपाल जेभी धनगढीको संलग्नता रहेको उल्लेख गरिएको छ ।

अख्तियारले सबै प्रतिवादीविरुद्ध ३ करोड २७ लाख ७८ हजार १७० रुपैयाँ जनही बिगो कायम गरी आरोपपत्र दायर गरेको जनाएको छ ।

kZX9Pa

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*