विजय लघुवित्तको एफपीओ बिक्री खुला, कति कित्तासम्म भर्न पाइन्छ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुस २१ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ।
साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्त आपसमा मर्ज हुँदा संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ७४.३९ र २५.६१ रहेको छ। यस्तो अनुपात ७०ः३० कायम गर्नु पर्ने भएकाले त्यसका लागि कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो।
यसका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो। यसमा सर्वसाधारणले आजदेखि पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन्।
आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि दिनु पर्नेछ भने बढीमा १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। यो एफपीओ निष्कासन गरी बाँडफाँड गरेपछि कम्पनीको कुल सूचीकृत शेयर संख्या ७९ लाख १७ हजार २२०.५९ कित्ता कायम रहनेछ।
यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ।













