युक्रेनमा हारको बदला भेनेजुयलामा लिँदै अमेरिका, विश्व अर्थतन्त्रमा नयाँ त्रास कि सम्भावना ?

नबराज न्यौपाने
२१ पुष २०८२, सोमबार ०८:२०

समाचार विश्लेषण

काठमाडौं । युक्रेन युद्धमा रसियासँग नराम्रो हार व्यहोरेका अमेरिका अब त्यहाँबाट बाहिर निस्कन चाहन्छ । यसको पुष्टि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रयासबाटै स्पष्ट हुन आएको छ । अर्बौ डलर खर्च भइसक्दा पनि युक्रेन युद्ध जित्न सक्ने अवस्था नरहेपछि पछिल्लो पटक युक्रेनले गुमाएको भूमि फिर्ता नपाउने शर्तमा शान्ति सम्झौता गर्न युक्रेनमाथि अमेरिकाले दवाव बढाइरहेको छ ।

अमेरिका युक्रेन युद्ध कुनै पनि हालतमा अन्त्य चाहन्छ । त्यसले पुर्याएको क्षतिले आगामी दशकसम्म अमेरिका ऋणमा डुब्ने पक्का छ । त्यसैले पनि अमेरिका यो युद्ध अन्त्यको लागि संघर्ष गरिरहेको छ ।

युक्रेनमा युद्ध हारेको तनावमा रहेको अमेरिकाले भेनेजुयलामाथि आक्रमण गरेर युक्रेनमा हारेको क्षति भेनेजुयलाको तेलबाट पुरा गर्न चाहेको देखिन आएको छ । तर, त्यसको लागि निकोलस मादुरो बाधक बनिरहेका थिए । भेनेजुयलाबाट भारत, चीन, रसियाले फाइदा लिइरहेको बुझेको अमेरिकाले एक तीरबाट तीन वटा सिकार गर्न चाहेको देखिन आएको छ ।

मादुरोको सत्ता अपदस्थ गरेर आफू अनुकूलको नयाँ सत्ता गठन गर्न सकेको खण्डमा त्यहाँको तेल साम्राज्यमाथि कब्जा जमाउन सकिन्छ भन्ने बुझेको अमेरिकाले युक्रेन युद्धको बदला लिने उचित मौकाको रुपमा भेनेजुयलामाथि आक्रमण गरेको संसारले स्पष्ट बुझेको छ ।

एकातिर युक्रेनमा ठुलो आर्थिक क्षति व्यहोरेको अमेरिकाले युक्रेनसँग शान्ति सम्झौताकै मौका पारेर भेनेजुयलामाथि आक्रमण गरेको अवस्थामा रसिया समेतले मुख खोल्न पाउदैन । विश्वका दुई ठूला राष्ट्रले युक्रेन युद्धमा गरेको संघर्षमा रसियाले युक्रेनी जमिन पाउने र अमेरिकाले के पाउने भन्ने प्रश्न थियो । अन्तर्राष्ट्रिय नीतिमा एउटा सिद्धान्त छ, त्यो हो सिकार बाडेर खाने सिद्धान्त अहिले अमेरिकाले रसियाको समर्थन रहेको भेनेजुयलामाथि आक्रमण गरी त्यहाँ कब्जा जमाउनु भनेको त्यही सिकार बाडेर खाने सिद्धान्त अनुसार कै हो । युक्रेनी भूमि रसियालाई भेनेजुयलाको तेल अमेरिकालाई ।

फाइल तस्विरः युरोन्यूज

विश्व अर्थतन्त्रमा एउटा त्रास त अहिले देखिएको छ, तर यो अब लामो समय जाने देखिदैन । युक्रेन युद्ध अन्त्य हुने वित्तिकै युरोप र अमेरिकामा आर्थिक संकटको अन्त्य हुने हुँदा विश्व अर्थतन्त्रमा सकारात्मक नै प्रभाव पर्ने देखिन आएको छ । अमेरिकी सुप्रिमेसी र विश्वका नेताहरुले महसुस गरेको असुरक्षा र लगानीकर्ताहरुमा देखिएको त्रास भन्दा युक्रेन युद्धले पार्ने बहुआयामिक सकारात्मक प्रभावको ठूलो हिस्साले विश्व अर्थतन्त्र नयाँ चरणमा प्रवेश गर्न सक्नेछ । अहिले अमेरिकाले युक्रेनमा शान्ति स्थापना अघि नै भेनेजुयलामाथि आफ्नो प्रभाव सुनिश्चित गर्न चाहेको रुपमा बुझ्न कठिन छैन ।

उता, अमेरिकी साम्राज्यवादले नयाँ चरणमा प्रवेश गरेको रुपमा विश्वले बुझिसकेको छ । यस्तो अवस्थामा विश्वमा नयाँ ध्रुविकरण समेत हुन सक्नेछ । अहिले नै पनि भारत, चीन र रसिया एउटा एलाइन्समा उभिइसकेका छन् । अब यो एलाइन्समा इरान, टर्की, क्यूवा र मेक्सिको समेत पनि हुनसक्ने सम्भावना छ । विश्वमा नयाँ ध्रुविकरणसँगै अमेरिकी एलाइन्समा जापान, इजरायल, दक्षिण कोरिया, बेलायतसहितका युरोपेली देशहरु हुने सम्भावना छ ।

भेनेजुयलामा भएको अमेरिकी आक्रमणले युक्रेन युद्धमा जस्तो बहुआयामिक प्रभाव नपर्ने भएकोले पनि अहिलेको युद्धले विश्व अर्थतन्त्रमा ठूलो नकारात्मक प्रभाव पर्ने त्रास मान्नुपर्ने अवस्था छैन ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*