हकप्रद पारित गर्न बसेको दोर्दी खोलाको साधारणसभा स्थगित

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको हिजो पुस २१ गते बोलाइएको वार्षिक साधारणसभा स्थगित भएको छ। कम्पनीले ललितपुरको चापागाउँस्थित बज्रबाराही पार्टी प्यालेसमा बिहान ८ बजे सभा बोलाएको थियो।
कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव नगरेको भए तापनि हकप्रद शेयर निष्कासनको मुख्य एजेण्डा सहित सभा बोलाएको थियो। तर साधारणसभा सञ्चालन गर्न आवश्यक संख्यामा शेयरधनी नै उपस्थित नभएपछि साधारणसभा स्थगित गरिएको सभाका परिपालन अधिकृत निरज कुमार चौधरीले जानकारी दिएका छन्।
साधारणसभा सञ्चालन गर्नका कम्पनी ऐन, २०६३ तथा कम्पनीको नियमावली बमोजिम गणपूरक संख्या पुगेको हुनु पर्छ तर गणपूरक संख्या नै नपुगेपछि सभाको काम कारबाही अघि बढाउन नसकी स्थगित गर्नु परेको कम्पनीले जनाएको छ।
कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभावेश गरी सभा बोलाएको थियो।
साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ७ गते एक दिनका लागि शेयर दाखिला खारेजी (बूक क्लोज) गरिसकेको छ। तसर्थ पुस ६ गतेसम्म नेप्सेमार्फत् यस कम्पनीको शेयर किनेका शेयरधनी मात्रै सभामा उपस्थित हुन सक्नेछन्। पुस २१ गते बोलाइएको साधारणसभा स्थगित भए तापनि कम्पनीले पुनः साधारणसभा भने बोलाइसकेको छैन। कम्पनीको सञ्चालक समितिको बैठक बसी स्थगित भएको साधारणसभा पुनः बोलाउनेछ।












