सुपर खुदी हाइड्रोपावरको आईपीओ खुला, कस्ले कति कित्तासम्म भर्न पाइन्छ?

२२ पुष २०८२, मंगलवार ०६:३०

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज पुस २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३१ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस ६ गते अनुमति पाएको थियो। जसमध्ये १५ लाख २० हजार कित्ता आयोजना प्रभावितका लागि र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।

आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमध्ये ६ लाख २० हजार कित्ता लमजुङको मस्र्याङ्दी गाउँपालिकाको वडा नं. २ र ३ (साविक घनपोखरा गाविसको वडा नं. १, ५, ६, ७ र ८ र साविक खुदी गाविसको वडा नं. १ देखि ९) का स्थानीय बासिन्दाका लागि रहेको छ।

त्यस्तै बाँकी ९ लाख ३० हजार कित्ता मस्र्याङ्दी गाउँपालिकाको वडा नं. १, ४, ५, ६, ७, ८ र ९ (साविक घनपोखरा गाविसको वडा नं. २, ३, ४ र ९, साविक ताघ्रिङ गाविसको वडा नं. १ देखि ९, साविक घेर्मु गाविसको वडा नं. १ देखि ९, सावकि बाहुनडाँडा गाविसको वडा नं. १ देखि ९, साविक भुलभुले गाविसको वडा नं. १ देखि ९ र साविक सिम्पानी गाविसको वडा नं. १ देखि ९) का स्थानीय बासिन्दाका लागि रहेको छ।

आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र बढीमा १ लाख कित्तासम्म माग गर्न सकिनेछ। आयोजना प्रभावितले माघ ६ गतेसम्म र वैदेशिक रोजगारेले पुस २५ गतेसम्म आवेदन दिन सक्नेछन्। तर यस अवधिमा मागभन्दा कम मात्रामा आवेदन परेको खण्डमा भने आवेदन अवधि लम्बिनेछ।

आयोजना प्रभावितले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा र हिमालयन बैंकको भुलभुले शाखा कार्यालयमा आवेदन फाराम प्राप्त गर्न सक्नेछन्। वैदेशिक रोजगारेले धितोपत्र बोर्डबाट अनुमति पाएका सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यायलयबाट आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपाल लिमिटेडले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*