‘२०औं वर्षतर्फ मुक्तिनाथ विकास बैंक, बैंकिङसँगै समाज निर्माणको दृढ संकल्प’

२१ पुष २०८२, सोमबार १५:४०

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो स्थापना भएको उन्नाइसौं वर्ष पूरा गरी बीसौं वर्षमा प्रवेश गरेको अवसरमा पुष १९ गते देशभर विविध सामाजिक तथा संस्थागत कार्यक्रमहरू आयोजना गरेको छ । वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको बैंकले यस अवसरलाई सामाजिक योगदान, सिर्जनात्मक प्रतिभा प्रोत्साहन र संस्थागत सुदृढीकरणसँग जोडेको छ ।

वार्षिकोत्सवको मुख्य कार्यक्रमअन्तर्गत बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंसहित जनकपुर, नारायणगढ, धादिङ, पोखरा, इटहरी, बुटवल र लम्कीस्थित क्षेत्रीय कार्यालयहरूमा एकैसाथ बृहत रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो । ती कार्यक्रममार्फत कूल ७५५ युनिट रगत संकलन गरी सम्बन्धित स्थानीय रक्तसञ्चार गृहलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ । नियमित रूपमा रक्त अभाव देखिने अवस्थालाई ध्यानमा राख्दै गरिएको यो पहलले समुदायस्तरमा सकारात्मक प्रभाव पारेको बैंकको विश्वास छ ।

त्यसै अवसरमा बैंकले ‘सन् २०५० मा मेरो नेपाल’ शीर्षकमा कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूका लागि राष्ट्रव्यापी चित्रकला प्रतियोगिता पनि आयोजना गरेको थियो । प्रतियोगितामा देशभरबाट ७९१ विद्यार्थीको सहभागिता रहेको थियो । स्वतन्त्र विषयविज्ञको मूल्यांकनका आधारमा काठमाडौंकी रिया खड्काले सर्वोत्कृष्ट चित्र प्रस्तुत गर्दै प्रथम स्थान हासिल गरेकी छन् । उनले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकी छन् । साथै, प्रत्येक क्षेत्रीय कार्यालयअन्तर्गत उत्कृष्ट चित्रकारलाई जनही १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै बैंकले सातै प्रदेशलाई समेट्ने गरी विभिन्न सामाजिक कार्यहरू पनि गरेको छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुका साथै विभिन्न विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । यस्तै, बागमती सफाइ महाअभियानलाई आवश्यक सफाइ सामग्री हस्तान्तरण गरिएको छ भने गैरनाफामूलक सामाजिक संस्था सेवा आश्रमलाई न्यानो सिरक र डस्ना सहयोग गरिएको छ ।

फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न स्थानमा डस्टबिन वितरण गरिएको छ । साथै, हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाका दुर्गम क्षेत्रका गरिब तथा विपन्न वर्गका व्यक्तिहरूलाई जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले सिलाई मेसिन वितरण गरिएको छ । ई–नेबल नेपालमार्फत बालबालिकालाई कृत्रिम हात हस्तान्तरण गर्ने कार्यक्रमसमेत सञ्चालन गरिएको बैंकले जनाएको छ ।

केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित औपचारिक कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लले गरेका थिए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था, प्रगति तथा भावी रणनीतिबारे जानकारी गराएका थिए । सो अवसरमा मुक्तिनाथ विकास बैंकको संस्थागत गीत विमोचन गरिएको थियो भने संस्थामा १० वर्ष सेवा अवधि पूरा गरेका ४७ जना कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा सञ्चालक, सेयरधनी, सेवाग्राही तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

मुक्तिनाथ विकास बैंकले सन् २०१२ मा आफ्नो सेवा दायरा १० जिल्लासम्म विस्तार गरेको थियो । सन् २०१५ मा राष्ट्रियस्तरको विकास बैंकको रूपमा स्थापित हुँदै देशव्यापी सेवा दिन सुरु गरेको बैंकले ग्रामीण तथा पिछडिएका क्षेत्रलाई प्राथमिकतामा राख्दै वित्तीय पहुँच विस्तार गर्दै आएको छ । सन् २०१६ मा केन्द्रीय कार्यालय काठमाडौं स्थानान्तरण गरेपछि बैंकको संस्थागत क्षमता थप सुदृढ भएको देखिन्छ । सन् २०१८ मा नेपालकै नम्बर एक विकास बैंकको रूपमा स्थापित भएको बैंकले सन् २०२१ मा एक अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गर्ने पहिलो विकास बैंकको इतिहास बनाएको थियो ।

बैंकले ग्रामीण वित्त, माइक्रोफाइनान्स र सामाजिक महत्त्वका परियोजनामा लगानी गर्दै सामाजिक उत्तरदायित्वमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ । कृषि क्षेत्रमा योगदान विस्तार गर्न मुक्तिनाथ कृषि कम्पनीमा लगानी गरेको बैंकले आफ्नै सहायक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेड स्थापना गरी वित्तीय सेवाहरूलाई अझ व्यापक बनाएको छ ।

डिजिटल बैंकिङ सेवा, प्रतिस्पर्धात्मक बचत योजना र आकर्षक कर्जा योजनामार्फत बैंकले आधुनिक बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्दै आएको छ । संस्थागत सुशासन, पारदर्शिता र नियामक पालना बैंकका प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै बैंकले आगामी दिनमा वित्तीय पहुँच अझ विस्तार गर्ने, ग्रामीण क्षेत्रमा थप सेवा पुर्‍याउने र नवप्रवर्तनशील वित्तीय समाधानमार्फत अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*