करोडौंको धितो लिलामपछि एनआईसी एशिया बैंक भित्रै आत्मदाहको प्रयास

काठमाडौँ । आफ्नो नाममा रहेको करोडौँ मूल्यको जग्गा एनआईसी एशिया बैंकले लिलाम गरेपछि एक ऋणीले आत्महत्याको प्रयास गरेको छन् । इटहरी आइतबारेका लालबहादुर पौडेलले बैंकको निर्णयबाट आफू अन्यायमा परेको भन्दै इटहरीस्थित एनआईसी एशिया बैंकको शाखा कार्यालयमै शरीरमा पेट्रोल छर्किएर आत्मदहाको प्रयास गरेका हुन् ।
घटनाका अनुसार पौडेल बोतलमा पेट्रोल बोकेर बैंक पुगेका थिए । बैंकभित्र प्रवेश गरेपछि उनले आफ्नो शरीरमा पेट्रोल छर्किन खोजेपछि त्यहाँ होहल्ला मच्चिएको थियो । बैंकका कर्मचारी, सुरक्षागार्ड र दुर्गा प्रसाईँको नागरिक बजाउ अभियानका केही सदस्यले उनलाई तत्काल नियन्त्रणमा लिएर जोगाएका थिए । घटनाको भिडियो खिच्न केही क्यामराम्यान समेत बैंक परिसरमा पुगेको देखिएको भन्दै बैंक पक्षले यसलाई योजनाबद्ध बदनाम अभियानको रूपमा व्याख्या गरेको छ ।
पौडेलले भने आफू अत्यन्तै तनावमा पुगेपछि यस्तो कदम चाल्न बाध्य भएको बताएका छन् । उनका अनुसार उनले इटहरीमा रहेको आफ्नो करोडौँ मूल्यको जग्गा इटहरीकै व्यवसायी गंगाराम साह तेलीलाई धितोमा राख्न दिएका थिए । झापामा मदिरा फ्याक्ट्री सञ्चालन गर्ने उद्देश्यले साहले पौडेलसँग ब्याज दिने सहमतिमा जग्गा धितो मागेको र त्यसैका आधारमा साढे दुई करोड रुपैयाँ बराबरको ऋण निकालिएको थियो । तर, साहले न त ब्याज नै दिए, न त बैंकमा किस्ता बुझाए । लामो समयसम्म किस्ता नआएपछि बैंकले धितोमा राखिएको जग्गा लिलाम प्रक्रिया अघि बढाएको हो ।
पौडेलका अनुसार उनले सावा तिर्ने तयारीका लागि केही समय माग गर्दै आएका थिए । तर, बैंकले उनको आग्रह नसुनी एकतर्फी रूपमा जग्गा लिलाम गरेको भन्दै उनी आक्रोशित बने । आफ्नै कमजोरीभन्दा बढी शाहको लापरबाही र बैंकको कठोर निर्णयले आफूलाई सडकमा ल्याउने अवस्थामा पु-याएको महसुस भएपछि उनले आत्मदहाको प्रयास गरेको बुझिएको छ । उनले बैंकले आफ्नो वास्तविक पीडा नबुझी केवल कानुनी प्रक्रिया मात्रै हेरेको आरोप समेत लगाएका छन् ।
तर, बैंक पक्षले पौडेलको दाबीलाई अस्वीकार गरेको छ । एनआईसी एशिया बैंकका सूचना अधिकारी जयेन्द्र रावलका अनुसार पौडेलको विषयमा बैंकले कुनै निर्णय नगरेको बताए । उनले भने, ‘लालबहादुर पौडेल हाम्रो ऋणी हुन् । अर्का व्यक्ति गंगाराम साह पनि बैंककै ऋणी थिए । ती दुईबीच बाहिरी आर्थिक कारोबार रहेछ । साहले ऋण नतिरेपछि बैंकले धितोमा राखिएको जग्गा लिलाम गरेको हो । त्यो जग्गा साहले धितो राखेको भए पनि वास्तविक मालिक पौडेल रहेछन् ।सोहि कारण पौडेल मसँगको आर्थिक कारोबार हुँदा हुँदै किन लिलाम गर्यो भनेर बैंक आए’
बैंकले आफ्नो नियम, प्रक्रिया र कानुनअनुसार नै लिलामी प्रक्रिया अघि बढाएको रावलको दाबी छ । ‘बैंक बदनाम गर्ने उद्देश्यले पौडेल केही व्यक्तिहरू र क्यामराम्यान लिएर शाखामा आएका देखिन्छन् । उनले म्यानेजरसहित सबैलाई त्रसित पार्ने गरी पेट्रोल छर्किएको जस्तो नाटक गरे । तर, उनको बैंकसँगको कारोबार सामान्य नै चलिरहेको छ । आजको घटना भने उनको बैंकिङ कारोबारसँग प्रत्यक्ष सम्बन्धित छैन’ रावलले दाबी गरे ।
प्रहरीले भने घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धान अघि बढाएको जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुबास हमालका अनुसार बैंकले ब्याज तिर्ने विषयमा बोलाएको बेला पौडेल बैंक पुगेका थिए । ‘लामो समयसम्म ऋणको ब्याज र सावा नदिएपछि बैंकले ताकेता गर्दै आएको रहेछ । सोही क्रममा आज उनी बैंक गएर आत्मदहाको प्रयास गरे । उनले कति ऋण लिएका थिए भन्ने विषयमा हामीले थप अनुसन्धान गरिरहेका छौँ’ हमालले भने ।
प्रारम्भिक अनुसन्धानबाट पौडेल आफैँ ऋणी रहेको र अर्का साथीलाई सहयोग गर्ने नाममा आफ्नो जग्गा धितोमा दिएपछि समस्या थपिएको देखिएको छ । साहले ऋण निकालेपछि किस्ता नतिर्दा अन्ततः बैंकले धितो लिलाम गरेको र त्यसको प्रत्यक्ष असर पौडेलमाथि परेको पाइन्छ । बाहिरी आर्थिक कारोबारलाई बैंकिङ प्रणालीसँग गाँसेर पौडेलले बैंकमाथि दोष थोपर्ने प्रयास गरेको बैंकको बुझाई छ ।
यद्यपी, अर्का ब्यक्तिको जग्गा धितो राखेर बैंकले कसरी ऋण दियो यसमा भने प्रश्न उठेको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थासँग जोडिएका तनावपूर्ण घटनाहरूको शृङ्खलालाई फेरि उजागर गरेको छ । पछिल्ला दिनहरूमा बैंक कर्मचारीमाथि कुटपिट, धम्की, तोडफोडदेखि ऋणीहरू आत्महत्याको प्रयाससम्म पुग्ने घटनाहरू बढ्दै गएका छन् । एकातिर बैंकहरूले कानुनी प्रक्रिया पालना गरेको दाबी गरिरहेका छन् भने अर्कोतर्फ ऋणीहरूले आफूहरूमाथि अन्याय भएको गुनासो गरिरहेका छन् ।
निरन्तर यस्ता घटना बढ्दै गएको अवस्थामा बैंक वित्तीय संस्था माथि भने प्रश्न उब्जिन थालेको छ । एउटा ऋणीले बैंक भित्रै गएर आत्हदहाको प्रयास गर्दा बैंक वित्तीय संस्थाले यसलाई गम्भीर रुपमा लिनु पर्दैन ? ऋण लगेपछि ऋण तिर्नु पर्छ । तर, बैंकले ऋणीमा परेको समस्यालाई लिएर थोरै भएपनि मानवता देखाउनु पर्छ कि पर्दैन ? यी यस्तै प्रश्न पछिल्लो समय सर्वसाधारण स्तरबाट उठ्दै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले पनि यसमा गम्भीर समिक्षा गर्नुपर्ने देखिन्छ ।













