९८ अर्ब लागतको किमाथाङ्का अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमै बनाइने

२२ पुष २०८२, मंगलवार १०:२८

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका–२ मा पहिचान गरिएको ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार गरिएको छ । सरकार तथा सरकारी निकाय संस्थापक रहेको विद्युत उत्पादन कम्पनीले नै आयोजना विकास र निर्माण गर्ने तयारी अघि बढाएको हो ।

निर्माण अवधिको ब्याजसहित आयोजनाको अनुमानित लागत ९७ अर्ब ९४ करोड रुपैयाँ रहनेछ । कुल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी (इक्विटी) बाट जुटाइने वित्तीय संरचना तय गरिएको छ । यसअनुसार करिब ६८ अर्ब ५५ करोड रुपैयाँ ऋण र २९ अर्ब ३८ करोड रुपैयाँ इक्विटीबाट व्यवस्थापन गरिनेछ ।

ऋणतर्फ हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी (एचआइडिसिएल), कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी तथा बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमार्फत स्रोत जुटाउने प्रस्ताव गरिएको छ । इक्विटीका लागि भने कम्पनीका संस्थापक सेयरधनीका साथै गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दा, अतिविपन्न परिवार र सर्वसाधारणलाई सेयर निष्कासन गर्ने योजना बनाइएको छ ।

प्रस्तावित लगानी मोडालिटीबारे जानकारी लिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आयोजनाको लागत अद्यावधिक गरी त्यसकै आधारमा तत्काल वित्तीय व्यवस्थापनको प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । विद्युत उत्पादन कम्पनीसँग विभिन्न आयोजनाको लाइसेन्स भए पनि निर्माणमा जान नसकेको उल्लेख गर्दै उनले दीर्घकालीन आम्दानी र संस्थागत दिगोपनका लागि किमाथाङ्का अरुण आयोजना कम्पनी आफैंले निर्माण गर्नुपर्ने बताएका छन् । उनले लगानी ढाँचा र त्यसअनुसारको संस्थागत इक्विटी योजना तत्काल सञ्चालक समितिबाट पारित गरी पेश गर्नसमेत निर्देशन दिएका छन् ।

आयोजनाको अध्ययन तथा पूर्वनिर्माण कार्यमा हालसम्म ७३ करोड १४ लाख रुपैयाँ खर्च भइसकेको छ । कार्यालय तथा कर्मचारी आवासका लागि आवश्यक जग्गा अधिग्रहण सम्पन्न भइसकेको छ भने बाँध, जलाशय र विद्युतगृहलगायत संरचनाका लागि आवश्यक जग्गाको मुआब्जा तथा क्षतिपूर्ति निर्धारण भइसकेको छ । यस प्रयोजनका लागि करिब ४५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

आयोजनाबाट वार्षिक २ अर्ब ६९ करोड युनिट अर्थात २ हजार ६९०.९७ गिगावाट–आवर विद्युत उत्पादन हुने अनुमान छ । हिउँदयाममा पिक र अफ–पिक ऊर्जा क्रमशः ४७ करोड ३१ लाख र ३५ करोड ३३ लाख युनिट तथा वर्षायाममा १ अर्ब ८६ करोड ४६ लाख युनिट उत्पादन हुने प्रक्षेपण गरिएको छ । उत्पादित विद्युत बिक्रीबाट वार्षिक १६ अर्ब ९१ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*