काठमाडौंमा नक्कली नोट छाप्ने गिरोहको पर्दाफास, भारतीय नागरिकसहित प्रिन्टिङ मेसिन बरामद

काठमाडौं । नक्कली नोट छाप्ने मेसिनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको मोतिहारीका २८ वर्षीय रबि कुमार श्रीवास्तवलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार श्रीवास्तवले भारतबाट नेपालतर्फ नक्कली नोट छाप्ने मेसिन, कम्प्युटर तथा अन्य प्रिन्टिङ सामग्री ल्याइरहेको अवस्थामा पक्राउ गरिएको हो । आइतबार बीर ०५ एफ २५११ नम्बरको भारतीय नम्बर प्लेट भएको बुलेट मोटरसाइकलको पछाडि सिटमा ती सामग्री राखी नेपाल प्रवेश गर्ने क्रममा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसअघि गत १६ गते नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलबाट एक हजार रुपैयाँ दरका ९३ थान नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको थियो । सोही घटनाको अनुसन्धानका क्रममा श्रीवास्तवसम्म प्रहरी पुगेको बताइएको छ ।
पक्राउ परेका श्रीवास्तवको साथबाट भारतीय नम्बर प्लेट भएको बुलेट मोटरसाइकल, भारतीय रुपैयाँ ५०० दरका ३१७ थान नोट, कम्प्युटर र प्रिन्टिङसम्बन्धी सामग्री, मोबाइल फोन, प्रिन्टर, सीपीयू, टोनर, नक्कली पेस्तोल तथा लालीगुराँसको वाटरमार्क छापिएको एक हजार लेखिएको कागजसहित विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र नक्कली नोटको सञ्जालबारे विस्तृत रूपमा खोजी भइरहेको प्रहरीको भनाइ छ ।












