बिक्री दबाबको बाबजुद एसवाई प्यानलको शेयर मूल्यमा निरन्तर हरियाली

काठमाडौँ । पछिल्लो समय शेयर बजारमा देखिएको हरियालीसँगै एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यले पनि निरन्तर उकालो यात्रा जारी राखेको छ। नेप्सेमा सूचीकृत केहि समयपछि सामान्य करेक्सन देखिएको यस कम्पनीको शेयर मूल्य पछिल्ला कारोबार दिनहरूमा भने लगातार बढिरहेको छ।
सूचीकरणको प्रारम्भिक चरणमा दुई दिनसम्म सीमित करेक्सन आउँदा केही लगानीकर्ता बिक्रीतर्फ हाबी भएका थिए। सो अवधिमा बजारको मनोविज्ञान नकारात्मक देखिँदा छोटो अवधिको नाफा सुरक्षित गर्ने उद्देश्यले शेयर बिक्री बढेको थियो। तर पछिल्ला दिनहरूमा शेयर बजार समग्र रूपमा सुधारतर्फ उन्मुख भएपछि एसवाई प्यानलको शेयरमूल्यले पनि तीव्र गति समातेको छ।
बजार बढ्न थालेसँगै करेक्सनको समयमा शेयर बिक्री गरेका लगानीकर्ता अहिले भने झुक्किएको विश्लेषण हुन थालेको छ। किनकि, पछिल्ला कारोबारमा कम्पनीको शेयर मूल्य उल्लेख्य दरले बढ्दै गएको छ र नयाँ उच्च स्तरतर्फ अग्रसर देखिएको छ।
मंगलबारको कारोबारमा समेत शेयर बिक्री गर्ने पक्ष केही हदसम्म हाबी देखिए पनि त्यसले मूल्य वृद्धिलाई रोक्न सकेन। आइपीओमार्फत शेयर पाएका लगानीकर्ताबाहेक दोस्रो बजारबाट शेयर खरिद गरेका कतिपय लगानीकर्ताहरू समेत नाफा बुकिङतर्फ लागेका देखिन्छन्। तर, बजारमा माग बलियो रहँदा बिक्री दबाबका बाबजुद शेयर मूल्य उल्लेख्य रूपमा वृद्धि भएको हो।












