निरन्तर घट्दै बैंकहरुको बेस रेट, सस्तो ब्याजमा ऋण लिन कुन बैंक रोज्ने ?

२२ पुष २०८२, मंगलवार १२:१९

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको आधार दर (बेस रेट) लगातार घट्दै गएको छ । २० वटै वाणिज्य बैंकको बेस रेट घट्दै जाँदा ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको हो ।

बैंकहरुले प्रकाशन गरेको पुष महिनाकाको ब्याजदर अनुसार औसत आधार दर घटेर ५.४५ प्रतिशत कायम भएको छ । यसअवधिमा बैंकहरुको औसत आधार दर ०.१२ प्रतिशतले घट्न पुगेको छ । मंसिरमा बैंकहरुको औसत आधार दर ५.५७ प्रतिशत रहेको थियो ।

बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएको छ । बैंकिङ प्रणालीमा अहिले तरलता अधिक भए पनि आर्थिक शिथिलताका कारण कर्जाको माग न्यून छ । यसले बैंकहरूलाई निक्षेपको ब्याजदर घटाउन र आधार दर घटाउन प्रेरित गरेको छ । हाल बैंकहरुले कर्जाको प्रकृति अनुसार आधर दरमा १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् ।

आधार दरलाई ध्यानमा राख्दै सस्तो ब्याजदरमा ऋण लिन चाहने ग्राहकहरूले स्ट्याण्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंकजस्ता बैंकहरूलाई प्राथमिकता दिन सक्ने देखिएको छ । यद्यपि, ग्राहकहरूले कर्जाको प्रकृति, बैंकको सेवा स्तर र अन्य शुल्कहरू समेत ध्यानमा राखेर निर्णय गर्नुपर्छ ।

पुष महिनाको आधार दरका आधारमा सबैभन्दा सस्तो ब्याजमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ऋण प्रदान गर्ने देखिन्छ । हाल बैंकको आधार दर ४.२७ प्रतिशत छ ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर पनि ४.४८ प्रतिशत, एभरेष्ट बैंकको ४.७७ प्रतिशत, नेपाल बैंकको ५.१३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.१९ प्रतिशत, नबिल बैंकको ५.२३ प्रतिशत र ग्लोबल आइएमई बैंकको ५.२४ प्रतिशत रहेको छ ।

सर्वाधिक आधार दर हुनेमा एनआईसी एशिया बैंक र प्राइम बैंक अघि रहेको देखिन्छ । यी बैंकहरुको क्रमशः ६.५२ प्रतिशत र ५.९४ प्रतिशत आधार दर रहेको छ । जस कारण ग्राहकले यी बैंकबाट ऋण लिदा बढी ब्याज तिर्नुपर्ने हुन सक्छ ।

बैंकहरूले कर्जा लगानी बढाउने उद्देश्यका साथ विभिन्न सुविधा र अफरहरू ल्याइरहेका छन्। केही बैंकहरूले आधारदरमै कर्जा उपलब्ध गराइ रहेका छन््, जसमा विशेषगरी घरजग्गासम्बन्धी कर्जामा यस्तो सुविधा दिइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*