मेट लाइफ नेपालका अभिकर्ताहरू एमडीआरटीमा सहभागी हुन नपाउने, अन्तर्राष्ट्रिय प्लेटफर्मबाट वञ्चित

२२ पुष २०८२, मंगलवार १३:३६

काठमाडौं । हरेक बीमा अभिकर्ताको एउटा सपना हुन्छ कम्तीमा बीमा सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्ममा सहभागी हुने र अन्तर्राष्ट्रिय अनुभव बटुल्ने । तर नेपालमा मेट लाइफ भन्ने एउटा जीवन बीमा कम्पनी छ जहाँ काम गरेबापत बीमा अभिकर्ताहरू अन्तर्राष्ट्रिय प्लेटफर्ममा सहभागी हुनै पाउँदैनन् ।

नेपालमा विगत लामो समयदेखि जीवन बीमा व्यवसाय गरिरहेको मेट लाइफ नेपालले आफ्ना अभिकर्ताहरूलाई एमडीआरटी–सीओटी र टीओटी बन्नबाट वञ्चित गर्दै आइरहेको छ । अभिकर्ताहरूलाई एमडीआरटीमा सहभागी नगराएर उनीहरूको क्षमता अभिवृद्धि, व्यक्तित्व विकास तथा आत्मविश्वास वृद्धिमा मेट लाइफ स्वयं रोकावट बनेको छ ।

मेट लाइफ नेपालका सूचना अधिकारी देव किशोर लालले कम्पनीले सुरुवाती चरणदेखि नै आफ्ना अभिकर्ताहरूलाई एमडीआरटीमा सहभागी नगराएको स्वीकार गरेका छन् । उनले भने, ‘हामीले अभिकर्ताहरूलाई त्यसमा सहभागी गराउने गरेका छैनौं । अभिकर्ताहरूलाई हामीले कम्पनीबाटै विभिन्न समयमा देश तथा विदेश तालीम दिने गरेका छौं।’

नेपाली जीवन बीमा व्यवसाय निकै प्रतिस्पर्धात्मक रहेको छ । १४ वटा कम्पनीका लाखौं अभिकर्ताहरू बजारमा रहेका छन् । अभिकर्ताहरूले देश तथा विदेशको अनुभव बटुलेर विभिन्न सामाजिक सञ्जाललाई माध्यम बनाएर तथा दैनिक रूपमा नागरिकहरूको घरदैलोमा गएर बीमा गराउने गरेका छन् ।

२१ औं शताब्दीमा समेत मेट लाइफका अभिकर्ताहरूले अन्तर्राष्ट्रिय प्लेटफर्ममा आफ्नो पाइला चाल्न समेत सकेका छैनन् । जसले गर्दा कम्पनीका अभिकर्ताहरूसँग आम नागरिकहरुले बीमा गराउँदा निकै गहिरो रूपमा सोच्न बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

पछिल्लो समय नागरिकहरू आफू तथा आफन्तहरूको जीवन बीमा गराउदा अभिकर्ता छनौट गर्न पनि निकै दोधारमा पर्ने देखिएका छन् । यस्तो अवस्थामा एमडीआरटी, सीओटी र टीओटी बन्न सफल अभिकर्ताहरूलाई नागरिकहरूले सजिलै विश्वास गरी बीमा गराउने गरेका छन् । मेट लाइफका अभिकर्ताहरूले विभिन्न समयमा एमडीआरटीमा सहभागि गराउन दबाव दिंदै आएका छन् । तर उनीहरूले दिएको दबावलाई अमेरिकन लगानी रहेको सो कम्पनीले डस्टविनमा फ्याँके जसरी अस्वीकार गर्दै आएको छ ।

नाम नखुलाउने शर्तमा मेट लाइफ नेपालका एक अभिकर्ताले भने, ‘हामी यस कम्पनीमा काम गरेको दशकौं समय भइसकेको छ । विभिन्न समयमा एमडीआरटीमा सहभागि गराउन पहल गर्यौं तर कुनै सुनवाई नै भएन ।’ उनले थपे, ‘अरू कम्पनीका अभिकर्ताहरूले एमडीआरटी छनौट भएका हौं भन्दै बजारमा निकै आत्मविश्वासका साथ बीमा गराउने गर्छन् अब उनीहरूसँग प्रतिस्पर्धा गर्न हामीलाई पनि निकै अप्ठ्यारो भएको छ ।’

मेट लाइफ नेपालले जीवन बीमा क्षेत्रको मेरुदण्डको रुपमा रहेका अभिकर्ताको क्षमता अभिवृद्धि र आत्मविश्वास बढाउने कुरामा समेत मतलब नगरेको कुरा थप प्रस्ट भएको छ । कम्पनीले अभिकर्ताहरूलाई अन्तराष्ट्रिय स्तरको क्षमता तथा अनुभव हासिल गर्नबाट बन्चित गरेको छ । मेट लाइफ नेपालमा अभिकर्ता भएका तथा अभिकर्ता बन्ने सोचमा रहेका नागरिकहरूले सोच्ने बेला भएको भन्दै स्वयं कम्पनीका अभिकर्ताहरूले आवाज उठाउँदै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*