ऋण उठाउन गएका इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीमाथि राप्रपाका नेताको कुटपिट, यसरी भयो घटना

दिपक विष्ट
२२ पुष २०८२, मंगलवार १४:४०

काठमाडौँ । ऋण उठाउन गएका बैंक कर्मचारीमाथि ऋणीले कुटपिट गरेको घटना घोराहीमा सार्वजनिक भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको घोराही शाखाका ब्रान्च म्यानेजर नविन थापा र कार्यरत कर्मचारी मनिष सेडाईमाथि आइतबार (पुष २०) कुटपिट भएको हो ।

बैंकका कर्मचारी समयमै ऋण भुक्तानी नगरेको भन्दै ऋणीलाई बुझाउन र कानूनी जोखिमबाट बचाउन अपिल गर्न घर पुगेका थिए । तर, ऋणी उमाकान्त भण्डारीले अपिलको सट्टा अपशब्द बोल्दै हातपात गरेका हुन् ।

घोराही शाखाबाट ऋणी भण्डारीले भण्डारी ब्रोदरको नाममा ५० लाख कर्जा लिएका थिए । सुरुमा उनले नियमित रुपमा कर्जा तिरेका थिए तर पछिल्लो समय लामो समयसम्म भुक्तानी गरेका थिएनन् । समयमा ऋण तिर्न नसके खराब कर्जा (एनपीए) मा पर्ने, कालोसूचीमा जाने र कानूनी उपचारको खतरा बढ्ने भएकाले बैंकले सम्बन्धित ऋणीसँग संवाद गर्ने बैंकका कर्मचारी ऋणीको दैलोमा गए ।

बैंक ब्रान्च म्यानेजर नविन थापा, कर्मचारी मनिष सेडाई र गाडी चालक आइतबार ऋणीको घर पुगे । उनीहरुले ऋणीलाई ऋण समयमा तिर्न अपिल गरेका थिए र ऋणीले भोगिरहेको समस्या सुन्न खोजेका थिए । बैंकको उद्देश्य केवल ऋणीलाई कानुनी उपचारबाट बचाउनु र बैंकको रकम सुरक्षित गर्नु मात्र थियो । तर, छलफलको क्रममा ऋणी भण्डारीले अपशब्द प्रयोग गर्दै कर्मचारीमाथि डरधक्की र धम्की देखाउन थाले ।

भण्डारीले कर्मचारी माथि अपशब्द बोल्दै ऋण नतिर्ने के गर्ने सक्छौ गर भन्दै डर धक्की देखाई कुटपिट गरे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का स्थानिय नेता भएको घमण्ड समेत देखाए । बैंकको ऋण समयमा नै भुक्तानी नसक्ने कुनै समस्या आएको खण्डमा बैंकसँग समय माग गर्ने र अपिल गर्नुको सट्टा उल्टै भण्डारी भने कर्मचारी माथि भौतिक आक्रामणमा निस्किए । कर्मचारी माथि उनले अपशब्द मात्रै बोलेन हातपात गर्दै थप्पड नै हान्दै घरबाट निकाले ।

कर्जा रिकभरीका लागि आफु ऋणीको दैलौमा अपिल गर्ने गएको सोहि विषयमा सम्बन्धीत कर्मचारी सेडाईले बताए । उनले बीमापोष्टसँग भने, ‘हामी कर्जा रिकभरी र ऋणीहरु छलफल र परामर्शका लागि बेला बेला घर दैलोमा पुग्ने गर्दैछौं । सोहि क्रममा हामी आइतबार ऋणी भण्डारीको घरमा पुगेका थियौं । उहाँसँग छलफल गरी रहेको बेला उँहाले भने अपशब्द बोल्दै हातपातमा निस्किए । हामीले कुनै प्रकारको दबाब पनि थिएनौ । सामान्य छलफलका लागि मात्रै गएको हौ ।’

बैंकका सूचना अधिकारी राजेश शर्माले पनि ऋणीसँग छलफल गर्ने गएका बेला कर्मचारी माथि दुरब्यवहार भएको बताए । शर्माले भने, ‘सर्वसाधारणको निक्षेपको सुरक्षा गर्नु हाम्रो दायित्व हो । ऋण दिएको पैसा उठेन भने हामीले अनुगमन र रिकभरीका लागि दैलोसम्म पुगेर गुनासो सुन्ने सरसल्लाह गर्नुपर्ने हुन्छ । सोहि विषयमा बुझ्न कर्मचारी दैलोमा जाँदा कुटपिट भएको छ । ऋण लिने तर तिर्ने बेला कर्मचारी कुटपिट गर्ने जस्ता कार्य निकै दुखत घटना हुन् ।’

सर्वसाधारणको रकमको सुरक्षाका लागि दिनरात काम गर्ने कर्मचारी माथि हुने गरेको दुरुब्यवहार निकै निन्दनिय रहेको उनले बताए । ‘एउटा कर्मचारी ऋण तिरिदिनुहोस् भन्दा कुटाइ खानु पर्ने कस्तो अवस्था आयो । यसरी अगाडी बढे के हुन्छ भविष्य ? ऋण लिएपछि तिर्नु त पर्छ नै । ऋण भुक्तानी गर्नु भन्दा कर्मचारी कुटपिट हुने ?’ शर्माले भने, ‘यस्ता घटना बैंकिङ क्षेत्रमा बढी रहेको छ । हामीले राष्ट्र बैंक र सम्बन्धीत निकायलाई पत्र समेत काटेका छौं ।’

बैंकले अभद्र व्यवहार तथा हातपातको आरोपमा प्रहरीमा उजुरी समेत दिइसकेको छ । कुट्नेहरुमाथि थप अनुसन्धान भइरहेको बैंकले जनाएको छ । तर, भण्डारी अहिले फरार रहेको बुझिएको छ ।

बैंकको कर्मचारी युनियनले पछिल्लो समय वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरु माथी प्रत्यक्ष, अप्रत्यक्ष रुपमा विभिन्न समुहहरुको प्रहारको केन्द्र बन्दै गएकोप्रति चिन्ता व्यक्त गरेको छ । बैंकको घोराही शाखामा कार्यरत कर्मचारीहरुलाई कर्जा असुलिको क्रममा कर्मचारीमाथि कुटपिट गर्ने जस्तो आपराधिक घटना प्रति भत्सना गरेको छ । बैंकिङ क्षेत्रमा यस्ता घटनाहरू बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले पनि मध्यस्थताको भूमिका पर्याप्त रूपमा खेल्न सकेको देखिएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*