पुँजी बजारमा उत्साहः कारोबारमा रौनक, मार्केट अब लयमा आइसकेको हो ?

२२ पुष २०८२, मंगलवार १५:०८

काठमाडौँ । नेपाली शेयर बजारमा आज पनि सुधारको संकेत देखिएको छ । पछिल्लो समय बजार करेक्सनको प्रक्रियामा रहे पनि क्रमशः अघि बढिरहेको छ, जसले लगानीकर्तामाझ उत्साहको वातावरण सिर्जना गरेको छ । पछिल्ला केही साता बजारमा निरन्तर हरियाली देखिनुले लगानीकर्ताको मनोबल बलियो हुँदै गएको संकेत दिएको विश्लेषकहरूले बताएका छन् । करेक्सनपछि बजार थप मजबुत आधारमा अघि बढ्ने विश्वास पनि लगानीकर्ताहरूले व्यक्त गरेका छन् ।

देशको राजनीतिक परिस्थितिले पनि नयाँ मोड लिएको छ। जेनजी आन्दोलनपछि सिर्जना भएको परिस्थिति निर्वाचनतर्फ अगाडि बढिरहेको छ। आगामी दिनमा नयाँ नेतृत्व चयन हुने प्रक्रियालाई बजारले सकारात्मक रूपमा हेर्ने अपेक्षा गरिएको छ। हाल शेयर बजारमा करिब ६२ हजारभन्दा बढी लगानीकर्ता सक्रिय छन् र सरकारले पनि बजारप्रति सकारात्मक दृष्टिकोण राख्ने विश्वास लगानीकर्तामा छ ।

नियामक निकायहरू समेत पछिल्लो समय शेयर बजारप्रति सकारात्मक देखिएका छन्। बजारलाई प्रभावित गर्दै आएका केही नीतिगत अवरोधहरू क्रमशः फुकुवा हुँदै गएका छन्। नेपाल राष्ट्र बैंकले बजारलाई चलायमान बनाउन विभिन्न पहल गरिरहेको छ भने अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्ड पनि लगानीकर्ता–मैत्री नीतितर्फ उन्मुख छन्। यसले आगामी दिनमा बजारमा थप उत्साह आउने अपेक्षा गरिएको छ।

तर, विश्लेषकहरूले निर्वाचनले बजारमा केही सामान्य असर पार्न सक्ने बताएका छन्। निर्वाचनपछि नयाँ नेतृत्व कस्तो हुने हो भन्ने अन्योलताका कारण लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहन सक्ने सम्भावना रहेको छ। यद्यपि, दीर्घकालीन रूपमा राजनीतिक स्थायित्व र नीतिगत स्पष्टताले बजारलाई सकारात्मक दिशामा लैजाने विश्वास कायम रहेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.९३ अकंले बढेर २६४९.३० बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको १ करोड ४८ लाख ३१ हजार २४१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन ११ उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको ०.४३ प्रतिशत, विकास बैंक समूहको ०.७९ प्रतिशत, फाइनान्स समूहको २.८७ प्रतिशत, हाइड्रोपावर समूहको ०.१३ प्रतिशतले बढेको छ ।

मंगलबार १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनीको घटेको छ । ८ कम्पनीको शेयर मूल्य आज स्थिर रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*