त्रियुगा नगरपालिकाको सामुदायिक वनको कोषमा घोटाला, अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिकास्थित सामुदायिक वन उपभोक्ता समूहमा अनियमितता भएको ठहर गर्दै अध्यक्ष मीना कुमारी चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सामुदायिक वन उपभोक्ता समितिको कोषको रकमबाट भवन निर्माणलगायतका कार्यमा अनियमितता गरेको आरोपमा आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
आयोगका अनुसार अध्यक्ष चौधरीसँगै समितिकी सचिव जानकी कुमारी चौधरी, कोषाध्यक्ष निलम चौधरी थारू तथा दर्तावाल लेखापरीक्षक तनुकलाल चौधरीलाई प्रतिवादी कायम गरिएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार चारै जनाविरुद्ध जनही ५ लाख १५ हजार ३०२ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो। आयोगले सार्वजनिक स्रोतको दुरुपयोग गरी आर्थिक हानि पुर्याएको निष्कर्षसहित कानुनी कारबाही अघि बढाएको जनाएको छ।












