गुणस्तर र बिलमा कैफियत भेटिएपछि दुई उद्योगलाई उपभोक्ता संरक्षण विभागको कारबाही

२३ पुष २०८२, बुधबार १०:५९

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता हितविपरीत कार्य गरेको ठहरसहित दुई वटा उद्योगलाई नगद जरिवाना गरेको छ। विभागले काठमाडौँ उपत्यकामा गरेको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा कैफियत भेटिएपछि भक्तपुर र काठमाडौँका प्लास्टिक उद्योगमाथि कारबाही गरेको हो।

विभागका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका–२ मा रहेको मञ्जुश्री प्लास्टिक इण्डस्ट्रिजलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। यस्तै, काठमाडौँमा सञ्चालित श्री पोलिथिन एण्ड प्लास्टिक उद्योग प्रालिलाई ५० हजार रुपैयाँ नगद जरिवाना गरिएको छ। ती उद्योगले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीतका गतिविधि गरेको पुष्टि भएपछि सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम कारबाही गरिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (२) र दफा ३८ (ङ) मा उल्लेखित कसुर प्रमाणित भएको विभागको ठहर छ। दफा १६ (२) अनुसार वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट जस्ता महत्वपूर्ण विवरण लुकाएर, ढाँटी वा उपभोक्तालाई झुक्याएर बिक्री वितरण गर्नेलाई कसुरदार मानिने व्यवस्था छ। विभागका अनुसार सम्बन्धित उद्योगहरूले यही विधि अपनाई उपभोक्तालाई ठगी गरेको देखिएको छ।

यसैगरी, ऐनको दफा ३८ (ङ) मा कुनै वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी गर्ने, बिक्री गरेको वस्तुको बिल वा बिजक दिन इन्कार गर्ने, बिल जारी गर्दा अतिरिक्त रकम असुल्ने, उपभोग्य म्याद सकिएका वा उपभोग गर्न नमिल्ने वस्तुमा नयाँ लेबल टाँसेर बिक्री गर्ने जस्ता कार्यलाई दण्डनीय कसुरका रूपमा परिभाषित गरिएको छ। अनुगमनका क्रममा ती उद्योगसँग सम्बन्धित यस्ता क्रियाकलाप देखिएको भन्दै विभागले कारबाही अघि बढाएको जनाएको छ।

विभागले पछिल्लो समय काठमाडौँ र भक्तपुरका विभिन्न १७ वटा उद्योग तथा फर्ममा अनुगमन निरीक्षण गरेको थियो। तीमध्ये १५ वटा फर्ममा सामान्य त्रुटि भेटिएपछि सुधारात्मक निर्देशन मात्र दिइएको विभागको भनाइ छ। स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवाला निकायको सहभागितामा विभागले बजारमा हुने अनियमितता नियन्त्रण गर्न निरन्तर अनुगमन तथा निरीक्षणलाई तीव्र बनाएको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*