थानकोटमा पार्किङ मै जलेर खरानी बन्यो ‘हुन्डाई क्रेटा’, गुणस्तरमा गम्भीर प्रश्न

२३ पुष २०८२, बुधबार १२:४९

काठमाडौँ । हेर्दा आकर्षक तर गुणस्तरमा गम्भीर समस्या रहेका हुन्डाई ब्रान्डका गाडीमा श्रृंखलाबद्ध रुपमा आगलागी भइरहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आइरहेका हुन्डाई ब्रान्डका सवारी पछिल्लो समय एकपछि अर्को गर्दै आगलागीका घटना सार्वजनिक भइरहेको हो ।

चन्द्रागिरीमा पार्किङमा राखिएको हुन्डाई क्रेटा गाडीमा आगलागी भएको घटना यसै श्रृंखलाको पछिल्लो उदाहरण बनेको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर ३ थानकोट प्रगतिटोलमा खाली जग्गामा पार्किङ गरेर राखिएको स्थानीय विनोद श्रेष्ठको बा २६ च ४४५९ नम्बरको हुन्डाई क्रेटा पेट्रोल गाडीमा पुष २१ गते दिउँसो अकस्मात आगो लागेको थियो । पार्किङमा राखिएको इन्जिन बन्द अवस्थामा रहेको गाडी एकाएक आगलागीमा परेपछि स्थानीय बासिन्दा त्रसित बनेका थिए । स्थानीय, प्रहरी र चन्द्रागिरी नगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिइए पनि गाडी पूर्ण रूपमा जलेर नष्ट भयो ।

यो पहिलो घटना भने होइन । यसअघि २०८२ साउन महिनामा गल्छी–सितापाइला सडक हुँदै काठमाडौं आइरहेको हुन्डाई क्रेटा पेट्रोल गाडी गुडिरहेको अवस्थामै आगलागीमा परेको थियो । २०८२ वैशाख महिनामा कुलेखानी–भीमफेदी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटारमा गुडिरहेको हुन्डाई ब्रान्डकै अर्को कारमा आगलागी भएको थियो । त्यसैगरी गत भदौ १२ गते पोखरास्थित गण्डकी मेडिकल कलेज नजिकै पार्किङ गरिएको हुन्डाई ग्रान्ड आई१० गाडी पनि आफैँ आगलागीमा परेको घटना सार्वजनिक भएको थियो । २०८१ साल वैशाख ३ गते झापाको बिर्तामोडमा हुडिरहेको अवस्थामा हुन्डाईको भेन्यू मोडलको गाडी एकाएक आगो लागेर जलेर नष्ट भयो ।

यी केही उदाहरण मात्र हुन् । पछिल्लो समय नेपाली अटो बजारमा हुन्डाईका गाडीमा गुणस्तरसँग सम्बन्धित समस्या, प्राविधिक कमजोरी, आगलागी र दुर्घटनाका खबरहरू बारम्बार आइरहेका छन् ।  विशेषगरी वायरिङ प्रणाली र इलेक्ट्रोनिक नियन्त्रण प्रणालीको ग्राहकहरूले बारम्बार प्रश्न उठाउँदै आएका छन् । यस्ता गुनासोहरूलाई गम्भीरतापूर्वक लिनुको सट्टा कम्पनीले बेवास्ता गर्दै आएको देखिएको छ । कम्पनीको सेवा शाखाले समस्या समाधान गर्नुको सट्टा ग्राहकको गुनासो लुकाउने प्रवृत्ति देखाएको आरोपसमेत छ । यस विषयमा कम्पनीका प्रतिनिधि दिवाकर रेग्मीलाई सम्पर्क गर्दा कम्पनी आफुलाई जानकारी नै भन्दै कुरा आलटाल गरे ।

उता, अन्तर्राष्ट्रिय बजारमा पनि हुन्डाईका सवारी साधन विवादमा पर्दै आएका छन् । विभिन्न देशमा प्राविधिक कमजोरीकै कारण लाखौँ गाडी रिकल गरिएका समाचार सार्वजनिक भइसकेका छन् ।

गाडी खरिद गर्नु आम नागरिकका लागि सानो लगानी होइन । जीवनभरको कमाइ, ऋण वा किस्ताबन्दीमा गाडी किन्ने उपभोक्ताले सुरक्षित, भरपर्दो र दीर्घकालीन प्रयोगको अपेक्षा राख्छन् । तर हुन्डाईका गाडीमा देखिएका यस्ता श्रृंखलाबद्ध समस्याले त्यो अपेक्षामाथि गम्भीर चोट पु-याएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*