अमेरिका जाने सपना महँगियो: नेपालीलाई भिसासँगै साढे २१ लाखसम्म धरौटी अनिवार्य

काठमाडौँ । अमेरिकाको विदेश मन्त्रालयले अमेरिका प्रवेश गर्नुअघि धरौटी तिर्नुपर्ने देशहरूको सूचीमा नेपालसहित थप सात देश समावेश गरेको छ । यससँगै आगामी जनवरी २१ देखि नेपाली नागरिकले अमेरिकी बी–१/बी–२ भिसाका लागि निवेदन दिँदा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी बुझाउनुपर्ने व्यवस्था लागू हुने भएको छ । अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा यसबारे जानकारी प्रकाशित गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार विदेशी नागरिकको भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकारीले धरौटी रकम तोक्नेछन् । धरौटी तिर्नुपर्ने निर्देश पाएपछि मात्र यात्रुहरूले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको फारम आई–३५२ भर्नुपर्नेछ र पे डट् गोभमार्फत अनलाइन भुक्तानी गर्नुपर्नेछ । धरौटी बुझाउँदैमा भिसा स्वीकृत भएको मानिने छैन भने कन्सुलर अधिकारीको निर्देशनबिनै जम्मा गरिएको रकम फिर्ता नहुने स्पष्ट गरिएको छ ।
यो व्यवस्था अमेरिकी विदेश मन्त्रालयले सञ्चालन गरेको ‘भिसा बोन्ड पाइलट प्रोग्राम’ अन्तर्गत लागू गरिएको अस्थायी पहल हो, जुन सन् २०२६ अगस्ट ५ सम्म कायम रहनेछ । भिसाको अवधिभन्दा बढी समय अमेरिका बस्ने प्रवृत्ति नियन्त्रण गर्न यो कार्यक्रम ल्याइएको मन्त्रालयको भनाइ छ ।
भिसाका शर्तहरू उल्लंघन नगरी तोकिएको अवधिभित्र अमेरिका छोड्ने बी–१/बी–२ यात्रुहरूले आफ्नो देश फर्किएपछि धरौटी रकम फिर्ता पाउनेछन् । तर धरौटी तिर्ने यात्रुहरूका लागि अतिरिक्त यात्रा प्रतिबन्धहरू पनि लागू गरिनेछ । भिसा प्राप्त गरिसकेपछि ती यात्रुहरूले बोस्टन लोगान, जोन एफ केनेडी र वाशिङटन डलेस अन्तर्राष्ट्रिय विमानस्थलमार्फत मात्र अमेरिका प्रवेश गर्न पाउनेछन् । विदेश मन्त्रालयका अनुसार अन्य विमानस्थलबाट आगमन भएमा प्रवेशमा रोक लाग्न सक्ने वा प्रस्थानसम्बन्धी रेकर्ड त्रुटिपूर्ण हुन सक्ने जोखिम रहनेछ ।
नेपालसहित अल्जेरिया, अंगोला, एन्टिगा एन्ड बार्बुडा, बंगलादेश, बेनिन, भुटान, बोत्स्वाना, बुरुन्डी, काबो भेर्दे, आइभरी कोस्ट, क्युबा, जिबुटी, डोमिनिका, फिजी, गाबोन, द गाम्बिया, गिनी, गिनी बिसाउ, किर्गिजस्तान, मलावी, मौरिटानिया, नामिबिया, नाइजेरिया, साओ टोम एन्ड प्रिन्सिपे, सेनेगल, ताजिकिस्तान, तान्जानिया, टोगो, टोंगा, तुर्कमेनिस्तान, टुभालु, युगान्डा, भानुआतु, भेनेजुएला, जाम्बिया र जिम्बाब्वेका नागरिकहरूले अमेरिकी भिसाका लागि धरौटी बुझाउनुपर्नेछ ।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार, भिसावाहकले अमेरिकामा बस्न अनुमति दिइएको अन्तिम मितिभन्दा अगाडि नै देश छोडेको रेकर्ड देखिएमा, भिसा जारी भए पनि अमेरिका यात्रा नगरेमा वा प्रवेश विन्दुमा प्रवेश अस्वीकार भएमा धरौटी स्वतः रद्द भई रकम फिर्ता गरिनेछ ।













