बैंकमा निक्षेप बढ्दा कर्जा ब्याजदर घट्यो, निजी क्षेत्रको कर्जा प्रवाहमा वृद्धि

काठमाडौं। पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा निक्षेप बढेसँगै कर्जाको ब्याजदर घट्ने क्रम देखा परेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार, चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा प्रवाहमा पनि वृद्धि भएको छ।
२०८२ असार मसान्तको तुलनामा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप ३ दशमलव १ प्रतिशतले बढेर ७४ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा निक्षेपमा २ दशमलव ३ प्रतिशत वृद्धि भएको थियो। वार्षिक आधारमा २०८२ कात्तिक मसान्तसम्म निक्षेपमा १३ दशमलव ४ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाउँछ।
सो अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १.२ प्रतिशतले बढेर ५५ खर्ब ६२ अर्ब ७५ करोड पुगेको छ। गत वर्ष सोही अवधिमा निजी क्षेत्र कर्जा २ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो। वार्षिक आधारमा २०८२ कात्तिक मसान्तसम्म निजी क्षेत्र कर्जा ६ दशमलव ९ प्रतिशतले बढेको छ। कर्जा प्रवाहमा उपभोग सम्बन्धी ऋणको हिस्सा सबैभन्दा बढी २० दशमलव ८ प्रतिशत रहेको छ भने सबैभन्दा कम ऋण स्थानीय तहतर्फ गएको छ।
वाणिज्य बैंकको निक्षेप र कर्जाको भारित औसत ब्याजदरमा पनि गिरावट आएको छ। २०८१ कात्तिकमा क्रमशः ५ दशमलव १ प्रतिशत र ९ दशमलव ७ प्रतिशत रहेको भारित औसत ब्याजदर २०८२ कात्तिकमा क्रमशः ३ दशमलव ७४ प्रतिशत र ७ दशमलव ३८ प्रतिशतमा झरेको छ।
२०८२ कात्तिक मसान्तसम्म २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त संस्था र १ पूर्वाधार विकास बैंक गरी कुल १०७ बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन्। वाणिज्य बैंकका शाखा सबै स्थानीय तहसम्म पुगेका छन्। शाखाको संख्या २०८१ कात्तिकमा ११ हजार ५ सय ४२ रहेकोमा २०८२ कात्तिकमा ११ हजार ५ सय १६ रहेको छ। एटिएम बुथ भने ४४ ले बढेर ५ हजार २६८ पुगेको छ।
बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा बढेको छ भने विपन्न क्षेत्र कर्जा घटेको देखिन्छ। २०८१ कात्तिकमा कुल कर्जाको ४ दशमलव ४२ प्रतिशत रहेको निष्कृय कर्जा २०८२ कात्तिकमा ५ दशमलव २६ प्रतिशत पुगेको छ। विपन्न क्षेत्रतर्फको कर्जा कुल कर्जा लगानीको ६.१७ प्रतिशत रहेकोमा २०८२ कात्तिकमा ५.३६ प्रतिशतमा झरेको छ।














