पुँजी बजारमा देखियो करेक्सनः नाफा बुक गर्न तिर हाबि लगानीकर्ता, यी हुन मार्केट बढ्ने आधार!

काठमाडौँ । दुई दिन लगातार सुधार देखाएको शेयर बजार आज करेक्सनको संकेतसहित घटेको छ । सोमबार र मंगलबार बजारमा सुधार देखिएको थियो तर बुधबार लगानीकर्ताले नाफा बुक गर्दा बजारले दोहोरो अंकले कमी देखायो । पछिल्लो समय बजारमा करेक्सन हुँदै अघि बढ्नु लगानीकर्ताले दिगो सुधारको संकेतको रूपमा लिएका छन् ।
देशको राजनीतिक परिस्थितिले नयाँ मोड लिएको छ । जेनजी आन्दोलनपछि सिर्जना भएको अवस्था निर्वाचनतर्फ अघि बढिरहेको छ । आगामी दिनमा नयाँ नेतृत्व चयन हुने प्रक्रियालाई बजारले सकारात्मक रूपमा हेर्ने अपेक्षा गरिएको छ । हाल शेयर बजारमा करिब ६२ हजारभन्दा बढी लगानीकर्ता सक्रिय छन् र सरकारले पनि बजारप्रति सकारात्मक दृष्टिकोण राख्ने विश्वास लगानीकर्तामा छ ।
नियामक निकायहरू समेत शेयर बजारप्रति सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले बजारलाई चलायमान बनाउन विभिन्न पहल गरिरहेको छ भने अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्ड पनि लगानीकर्ता मैत्री नीतितर्फ उन्मुख छन् । यसले आगामी दिनमा बजारमा थप उत्साह आउने अपेक्षा गरिएको छ ।
विश्लेषकहरूका अनुसार निर्वाचनले बजारमा केही सामान्य असर पार्न सक्छ। नयाँ नेतृत्व कस्तो हुने भन्ने अन्योलका कारण लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहन सक्ने सम्भावना छ । यद्यपि, दीर्घकालीन रूपमा राजनीतिक स्थायित्व र नीतिगत स्पष्टताले बजारलाई सकारात्मक दिशामा लैजाने विश्वास कायम छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.३५ अकंले घटेर २६३५.९४ बिन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको १ करोड ६ लाख ३३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन ११ उपसूचकमा हरियाली आएको छ । वाणिज्य बैंक समूहको ०.२४ प्रतिशत, विकास बैंक समूहको ०.८४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४२ प्रतिशतले शेयर मूल्य घटेको छ ।
बुधबार ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको घटेको छ ।














