स्वास्थ्य बीमा बोर्ड समस्याग्रस्त अवस्थामा

२३ पुष २०८२, बुधबार १५:५६

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड समस्याग्रस्त अवस्थामा रहेको  पाइएको छ ।

स्वास्थ्य बीमा बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य बिमा बोर्डले समयमा सेवाप्रदायक संस्थालाई भुक्तानी दिन नसक्दा समस्या उत्पन्न भएको जनाएको छ ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा। रघुराज काफ्लेले राज्यले दायित्वबोध नगर्ने स्थिति हो भने स्वास्थ्यबीमाको प्रिमियम वृद्धि गर्नुपर्ने बताएका छन् । उनले हालको अवस्थामा प्रिमियम वृद्धि गरेर त्यसलाई स्वचालित बनाइनुपर्ने र राज्यले सहयोग गर्नुको विकल्प नरहेको बताएका छन् ।

“विश्वका जुनसुकै देशमा राज्यले स्वास्थ्य बिमामा लगानी गर्ने गरेको छ,” काफ्लेले भने , “नेपालमा राज्यले लगानी नगर्ने अवस्थामा प्रिमियम बढाउनुको विकल्प छैन ।” उनले केही प्रिमियम बढाएर त्यसपछि मुद्रास्फितिको अवस्था अनुसार स्वचालित रूपमा प्रिमियम कायम गर्नुपर्ने बताएका छन् ।

बीमा बोर्डले राखेको छलफल कार्यक्रममा सरकारले पर्याप्त सहयोग नगरेको काफ्लेले गुनासो समेत पोखे । ‘बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सेवा घटाउनु वा प्रिमियम (शुल्क) बढाउनुपर्ने देखिन्छ । यसले लाखौं नागरिकलाई मर्का पर्छ, ‘डा।काफ्ले गुनासो पोख्दै भने, ‘यसैले राज्यको अनुदान योगदान बढाउनु नै एक मात्र व्यावहारिक र न्यायोचित उपाय हो ।’ उनले सबै सामाजिक सेवालाई एककिति गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।

बोर्डले कात्तिक मसान्तसम्मको मात्र ११ अर्बको हाराहारीमा स्वास्थ्य संस्थालाई भुक्तानी गर्न बाँकी छ । सरकारले चालु आर्थिक वर्षका लागि बोर्डलाई १० अर्ब अनुदान दियो । प्रिमियम शुल्क वापत बोर्डले ३ अर्ब ७३ करोड रुपैयाँ उठायो । यसो गर्दा १४ अर्बको हाराहारीमा रकम उठ्यो । जुन भुक्तानी भइसक्यो ।
बीमा बोर्डको तथ्यांकअनुसार वार्षिक २६ अर्बको हाराहारीमा स्वास्थ्य संस्थालाई भुक्तानी गर्नुपर्ने हुन्छ । बोर्डले पछिल्लो पटक ७ अर्ब अनुदान दिन सरकारसमक्ष माग गरेको थियो । तर उक्त रकम सरकारले दिन नसक्दा पाटन, त्रिवि शिक्षण अस्पताललगायत ठूला स्वास्थ्य संस्थाले सेवा बन्द गर्ने चेतावनी दिँदै आएको छ ।

‘बोर्डको खातामा २ करोड हाराहारीमा होला । सरकारसँग ७ अर्ब मागेका थियौं । तर महिनौं बितिसक्दा पनि भुक्तानी हुन सकेको छैन,’ बोर्डका सूचना अधिकारी विकेश मल्ल भन्छन् ।

बीमा कार्यक्रमको वित्तीय संकटलाई लिएर चर्को बहस भइरहेको छ । कतिपय स्वास्थ्य विज्ञ बीमा कार्यक्रम नाफामा रहनुपर्ने टिप्पणी गर्छन् । तर काफ्ले उक्त टिप्पणी गलत भएको दाबी गर्छन् ।

डा। काफ्लेको भनाइमा विकसित र विकासशील सबै देशहरूमा राज्यले ६० देखि ८५ प्रतिशतसम्म बीमालाई योगदान गर्छन् । ‘स्वास्थ्य बीमा सामाजिक सुरक्षामा आधारित कार्यक्रम हो, व्यावसायिक उद्यम होइन । यसको मूल उद्देश्य नै आम नागरिकको स्वास्थ्य उपचारमा मद्दत गर्नु हो,’ काफ्ले भन्छन् ।

बीमाको आम्दानी र खर्चबीचको ठूलो अन्तर नै वितीय संकटको मूल कारण बनेको उनको भनाइ छ ।

प्रत्येक वर्ष सेवा लिने बिमित संख्या बढ्दा भुक्तानीमा समस्या भएको काफ्लेले बताए ।

‘अस्पतललाई ११ अर्ब भुक्तानी गर्न बाँकी छ । सरकारले पैसा दिन सकेको छैन । बोर्डको खर्च प्रत्येक वर्ष बढिरहेको छ,’ डा। काफ्ले भन्छन् ।

अस्पतलालाई समयमै भुक्तानी दिन नसक्दा नियमन गर्न गाह्रो भइरहेको डा। काफ्लेको गुनासो छ ।

One thought on “स्वास्थ्य बीमा बोर्ड समस्याग्रस्त अवस्थामा

  1. शारदा कु गौतम says:

    दर्ता सहयोगीहरूले चै कहिले पाउने पारिश्रमिक ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*