सौर्य विद्युत् उत्पादक सङ्घको अध्यक्षमा भरत कुमार मल्ल निर्वाचित, यस्तो बन्यो टिम

काठमाडौँ ।नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको अध्यक्षमा भरत कुमार मल्ल निर्वाचित भएका छन्। राजधानीमा सम्पन्न सङ्घको २५औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिअनुसार वरिष्ठ उपाध्यक्षमा दीपक गौतम, प्रथम उपाध्यक्षमा रामेश्वर वाग्ले र द्वितीय उपाध्यक्षमा सुदर्शन बानियाँ चयन भएका छन्। यस्तै, महासचिवको जिम्मेवारी नेत्रबहादुर खत्रीले पाएका छन् भने सचिवमा केशवराज शर्मा र कोषाध्यक्षमा रामप्रसाद कोइराला निर्वाचित भएका छन्।
सदस्यहरूमा राजेन्द्रबहादुर खड्का, निस्था गौतम, विश्व शाह, कृष्णराज चुदाली, योगेन्द्रबहादुर श्रेष्ठ, दीपकराज पौडेल, तिलकलाल श्रेष्ठ, कुमार बस्नेत र सुबोध रिमाल रहेका छन्।
निजी क्षेत्रको पहलमा सौर्य ऊर्जा उत्पादन तथा प्रवर्द्धनमा क्रियाशील संस्थाहरूलाई एकीकृत गर्ने उद्देश्यसहित २०५७ साउन २० गते सङ्घ स्थापना गरिएको हो। हाल सङ्घमा १३८ उद्योग तथा कम्पनी आबद्ध छन्। स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा सङ्घले यस वर्ष रजत जयन्ती विभिन्न कार्यक्रममार्फत मनाइरहेको छ।













