पुँजी बजारमा झिनो सुधारः कारोबार खुम्चियो, लगानी गर्ने समय कि एक्जिट हुने ?

२४ पुष २०८२, बिहीबार १५:०६

काठमाडौँ । हिजो देखिएको करेक्सनपछि आज नेपाली शेयर बजारमा सामान्य सुधार देखिएको छ । दिनभर बजारमा उतार–चढावका बीच सुधारको संकेत रहँदा लगानीकर्तामा उत्साहको वातावरण सिर्जना भएको छ। विश्लेषकहरूले पछिल्ला केही साता बजारमा निरन्तर हरियाली देखिनुले लगानीकर्ताको मनोबल बलियो हुँदै गएको बताएका छन्। करेक्सनपछि बजार थप मजबुत आधारमा अघि बढ्ने विश्वास लगानीकर्ताले व्यक्त गरेका छन् ।

देशको राजनीतिक परिस्थितिले पनि शेयर बजारलाई सकारात्मक संकेत दिएको छ। जेनजी आन्दोलनपछि निर्वाचनतर्फ अगाडि बढेको अवस्था र आगामी दिनमा नयाँ नेतृत्व चयन हुने प्रक्रियालाई बजारले उत्साहजनक रूपमा लिने अपेक्षा गरिएको छ। हाल देशभर करिब ६२ हजारभन्दा बढी लगानीकर्ता सक्रिय छन् भने सरकारले पनि बजारप्रति सकारात्मक दृष्टिकोण राख्ने विश्वास लगानीकर्तामा देखिएको छ ।

नियामक निकायहरू समेत शेयर बजारप्रति सकारात्मक देखिएका छन्। बजारलाई प्रभावित गर्दै आएका केही नीतिगत अवरोधहरू क्रमशः हट्दै गएका छन्। नेपाल राष्ट्र बैंकले बजारलाई चलायमान बनाउन विभिन्न पहल गर्दै आएको छ भने अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्ड पनि लगानीकर्ता–मैत्री नीतिहरू लागू गर्दैछन्। यसले आगामी दिनमा बजारमा थप उत्साह र सुधारको सम्भावना देखाएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.५९ अकंले बढेर २६४०.५४ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९० करोड ८० लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ७ उपसूचकमा हरियाली देखिएको छ भने ६ उपसूचक घटेका छन् । आज १२९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ । १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*