खोला किनारामा २० मिटर खाली राख्ने फैसलाको पुनरावलोकन रिटमा मिसिल झिकाउने आदेश

काठमाडौँ। सर्वोच्च अदालतले उपत्यकाका नदी किनारामा २० मिटर खाली ठाउँ राख्ने आफ्नो फैसलाको पुनरावलोकन निवेदनमा मिसिल कागज झिकाउने आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी, तिल प्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको पूर्ण इजलासले आदेश जारी गरेको हो। यसअघि अदालतले २०८० पुस २० मा बागमती, विष्णुमती लगायतका नदी किनारामा संरचना निर्माण गर्दा २०–२० मिटर खाली ठाउँ राख्नुपर्ने फैसला गरेको थियो।
तर सरकारले उक्त फैसला कार्यान्वयन गर्न नसक्ने भन्दै तत्कालीन कानुन सचिव फडिन्द्र गौतममार्फत पुनरावलोकनको निवेदन दिएको थियो। सरकारको तर्क अनुसार काठमाडौँ उपत्यकामा १९ वटा खोला रहेका कारण ८ हजार ३०४ घर र ४२ हजार नागरिक विस्थापित हुन सक्ने सम्भावना छ। यसका साथै ती घरहरू क्षतिपूर्ति दिई भत्काउनु आर्थिक रूपमा सम्भव नभएको दाबी गरिएको छ।













