नेपालबाट ६६७ जना अभिकर्ता सन् २०२६ को एमडीआरटी छनौट, कुन कम्पनीबाट कति ?

राजन कठायत
२४ पुष २०८२, बिहीबार १७:४५

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुका ६६७ वटा अभिकर्ताहरुले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गरेका छन् । बीमापोष्टले संकलन गरेको विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुबाट सर्वोत्कृष्ट अभिकर्ताहरुले सो लक्ष्य हासिल गरेका हुन् ।

जीवन बीमा क्षेत्रमा आवद्ध विश्वभरका करोडौं बीमा अभिकर्ताहरुको एउटा सपना हुन्छ– एमडिआरटीको सीओटी–टीओटी बन्ने । सन् २०२५ भर्खरै सकिएको छ । एमडिआरटी २०२६ को लागि छनौंट हुने समय पनि सकिएको छ । सन् २०२६ का लागि नेपालबाट कुल ६६७ जना अभिकर्ताहरुले एमडीआरटी लक्ष्य पूरा गर्न सफल भएका छन् । जसमा सात जना टीओटी, २० जना सीओटी र ६४० जनाले एमडीआरटी लक्ष्य पूरा गरेका हुन् ।

व्यवसायिक बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म हो, एमडिआरटी । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) नामक संस्थाले सन् २०२६ को टिओटी बिजेताहरुलाई आगामी अक्टोबर ६–९ मा अमेरिकाको क्यालिफोर्नियाको वार्षिक बैठकमा निमन्त्रणा गर्नेछ । साथै, एमडीआरटी छनौट भएका अभिकर्ताहरुले आगामी अगस्ट २३–२६ सम्म अष्ट्रेलियामा हुने ग्लोबल कन्फरेन्समा सहभागी हुन पाउँने छन् ।

एमडिआरटीको छनौट तर्फ सन् २०२६ को लागि तोकिएको ५३ लाख ९६ हजार रुपैयाँ, सिओटीको लागि एक करोड ६१ लाख ९० हजार रुपैयाँ र टीओटीको लागि तीन करोड २३ लाख ८० हजार रुपैयाँ बराबरको प्रिमियम तोकिएको थियो । सो प्रिमियम संकलन गर्न सक्षम अभिकर्ताहरु छनौट भएका छन् ।

बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडीआरटीमा पुगेको आधारमा सबैभन्दा अगाडी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीबाट सन् २०२६ को लागि ११० जना अभिकर्ता एमडीआरटीका लागि छनौट भएका छन् । यो वर्ष कम्पनीले सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई पछि पार्दै सवैभन्दाबढी एमडीआरटीमा अभिकर्ता छनौट गर्न सफल भएको हो ।

दोस्रो स्थानमा रहेको नेशलन लाइफ इन्स्योरेन्सबाट ८३ जना अभिकर्ताहरु एमडीआरटीका लागि छनौंट भएका छन् । जसमा दुई जना अभिकर्ताले टीओटी, चार जना अभिकर्ताले सीओटी लक्ष्य पूरा गरेका छन् । कम्पनीले गत आर्थिक वर्षमा १०० जना अभिकर्तालाई एमडीआरटीको लागि छनौट गराएको थियो ।

गत आर्थिक वर्ष प्रथम स्थानमा रहेको एलआइसी नेपाल यस वर्ष तेस्रो स्थानमा रहेको छ । कम्पनीले सन् २०२६ को लागि कुल ८२ वटा अभिकर्ताहरुलाई एमडीआरटी लक्ष्य पुरा गराएको छ । जसमा तीन जना टीओटी र ६ जना सीओटी लक्ष्य हासिल गर्न सफल भएका छन् ।

आइएमई लाइफ इन्स्योरेन्सबाट एमडीआरटी लक्ष्य हासिल गर्ने अभिकर्ताहरुको संख्या दोब्बर अंकले बृद्धि भएको छ । कम्पनीबाट सन् २०२६ को एमडीआरटीको लागि कुल ७४ जना अभिकर्ता छनौट भएका छन् । जसमा एक जना सीओटी लक्ष्य प्राप्त गर्न सफल भएकी छिन् ।

साथै, सिटिजन लाइफ इन्स्योरेन्सले नेपाली जीवन बीमा बजारमा क्षमतावान र गुणस्तरीय अभिकर्ता उत्पादनलाई प्राथमिकता दिएको छ । कम्पनीबाट यस वर्ष कुल ७० जना अभिकर्ताहरु एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल भएका छन् । कम्पनीले यस वर्ष ऐतिहासिक रुपमा एक जना टीओटी लक्ष्य हासिल गर्न अभिकर्ता समेत पाएको छ ।

बीमापोष्टले संकलन गरेको विवरण अनुसार हिमालयन लाइफ इन्स्योरेन्सका ५७ जना अभिकर्ताहरुले एमडीआरटी लक्ष्य हासिल गरेका छन् । साथै, सूर्यज्योति लाइफबाट ५५ जना एमडीआरटी, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबाट ३९ जना एमडीआरटी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबाट २७ जना एमडीआरटी, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट २० जना र सन नेपाल लाइफ इन्स्योरेन्सबाट ६ जना अभिकर्ताहरुले एमडीआरटी लक्ष्य प्राप्त गरेका छन् ।

नेपालमा जीवन बीमा व्यवसाय गरीरहेको अमेरिकन कम्पनी मेट लाइफ नेपालले आफ्ना अभिकर्ताहरुलाई अन्तर्राष्ट्रिय प्लेटफर्म एमडीआरटीमा सहभागी गराउँदैन् । कम्पनीले अभिकर्ताहरुलाई अन्तर्राष्ट्रिय स्तरको ज्ञान र अनुभव गर्नबाट वर्षौदेखि बन्चित गर्दै आएको छ ।

जीवन बीमा कम्पनीहरुको लागि मेरुदण्डका रुपमा रहेका अभिकर्ताहरुको पनि व्यवसायीक क्षमता कति रहेछ भन्ने कुरा एमडीआरटी छनौटले देखाउँछ । कुनै पनि अभिकर्ताहरुले आफुलाई सफल र व्यवसायीक अभिकर्ताको रुपमा चिनाउन सफल गराउँने बाटो भनेकै एमडीआरटी हो । सन् २०२६ को लागि आवश्यक एमडीआरटीको व्यवसाय लक्ष्य पूरा गरेर मात्रै हुँदैन । एमडिआरटीमा दर्ता भई कम्पनीले सिफारिस गरेपछि उनीहरुले वार्षिक बैठकमा भाग लिए पछि मात्र आधिकारीक रुपमा एमडीआरटी बन्ने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*